ओलीलाई लक्षित गर्दै प्रचण्डले भने- सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन्


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाएर सरकारले जनतालाई भड्काउने काम गरेको बताएका छन् । मंगलबारको संसद बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले विचौलियाले सरकार चलाएको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले सत्तामा रहेकाको कुशासनले लोकतन्त्रलाई चुनौती दिएको बताए । उनले भने, ‘समिति बैठक नाटक, सत्ताको ड्राइभिङ सिटमै विचौलिया छन्। उसको शक्तिले इमान्दार व्यवसायीलाई अपमान गरेको छ । आज हामी सबै जनताको सघिन निगरानीमा छौँ। जनचाहनालाई उपेक्षा गर्नुभयो। गंगा नदीमा नक्कली भुटानी शरणार्थीमा धुनुभयो । तपाईँहरु प्रतिको आक्रोश आज व्यवस्था विरोधी गतिविधिमा पुग्यो ।’

प्रचण्डले भने, ‘प्रमुख प्रतिपक्ष दलका नेताले सदनमा बोल्दा प्रधानमन्त्रीको निरन्तर अनुपस्थिति घमण्ड हो कि, संस्कारहीनता हो कि कुण्ठा ? त्यसको जवाफ आफैं खोज्नुहोला ।’

प्रधानमन्त्री केपी शर्मा ओली भने अहिले काठमाडौंमा छैनन् । उनी कोशी प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा त्यता पुगेकाले संसदमा अनुपस्थित भएका हुन् । अघिल्लोपटक प्रचण्डले सम्बोधन गर्दा प्रधानमन्त्री अस्वस्थ रहेको बताइएको थियो ।

प्रचण्डले आफ्नो सम्बोधनमा फेरि एकपटक रवि लामिछानेको उनले खुलेर बचाउ गरे । संसदमा उनलाई प्रवेश दिनुपर्ने पैरवीसमेत गरे ।

प्रचण्डले भने, ‘अर्को प्रतिपक्षी दलको नेतालाई निलम्बन गरिएको छ । हिरासतमा नरहेको नेतालाई सदनमा आउन दिने प्रचलन हामीले पहिले स्थापित गरिसकेका छौं । सदनभित्रै बहस गराउँदा मात्रै लोकतन्त्र बलियो हुने हो । ठाउँ-ठाउँ घुमाएर हुर्मत लिँदा लोकतन्त्रलाई मद्दत गर्दैन ।’

प्रकाशित : २०८१ फाल्गुन २७, मंगलवार १४:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ