भारतबाट भित्र्याउन लागेको १ लाख ७६ हजार नक्कली नोटसहित पाँच जना पक्राउ


जनकपुरधाम । भारतबाट भित्र्याउन लागेको नेपाली नक्कली नोटसहित सर्लाही प्रहरीले एक महिलासहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका ७ सुन्दरपुरका ४२ वर्षीय खुसैद भने सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका ९ का ५६ वर्षीय राम नारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका ७ का ४८ वर्षीय दुलार सहनी, सर्लाहीकै ब्रहमपुरी गाउँपालिका २ का ४० वर्षीया कोरामपृत सहनी र ब्रहमपुरी गाउँपालिका ५ की सिहानता कुमारी देवी छन् ।

मलंगवा नगरपालिका ८ गोरखकालीबाट उनीहरूको सोमवार राति प्रहरीले पक्राउ गरेको थियो । उनीहरूको साथबाट नक्कली एक हजारको १७६ थान १ लाख ७६ हजार रुपैयाँ बरामद भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए ।

बा ४७ प ८७५७ र बिआर ३० सी ४७६६ र बीआर ३० एआई ३९४९ नम्बरको मोटरसाइकलमा नक्कली नोट लुकाएर ल्याउन लागेको गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा सो नक्कली रकम फेला परेपछि पाँचै जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका पाँचै जनामाथि मुद्रा कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डिएसपी राईले बताए ।

प्रकाशित : २०८१ फाल्गुन २८, बुधबार १४:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ