काँग्रेस नेताले नेवार समुदायको चिहान हडपेको आरोप


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले काठमाडौंको तारकेश्वर ९ स्थिति लोकतान्त्रिक चोकमा हरेको नेवार समुदायको चिहानको जग्गा नेपाली काँग्रेसका नेताले हडपेको आरोप लगाएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले तारकेश्वर ९ स्थिति लोकतान्त्रिक चोक कब्जामा लिई भोगचलन गरेको आरोप लगाएका हुन् । उक्त जग्गामा उजुरी पर्दासमेत स्थानीय निकायले संरक्षणका लागि कुनै पहल नगरेको खनालको आरोप छ ।

सांसद खनालले भने, ‘काठमाडौं क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं. ६२/६३ नेपाली कांग्रसका नेताले कब्जामा लिइ भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीको वाबजुद स्थानीय निकायले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको आम गुनासो छ ।’

रास्वपाकै अर्की सांसद सुमना श्रेष्ठले पनि उक्त जग्गाको बारेमा अनुसन्धान गर्न माग गरिन् । सांसदहरुको यस्तो आरोपपछि कांँग्रेस सांसदहरु उठेर विरोध जनाउँदै होहल्ला गरे । सभामुख देवराज घिमिरेले तथ्यमा टेकेर मात्र अभिव्यक्ति दिन समेत संसदको ध्यानाकर्षण गराए ।

प्रकाशित : 12 March 2025 2:23 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !