आज श्रीराम नवमी मनाइँदै, देशभर सार्वजनिक बिदा


काठमाडौं । चैत्र शुक्ल पक्षको नवमी तिथि । सनातन हिन्दु धर्मावलम्बीले भगवान् रामको पूजाआराधना गरी आइतबार रामनवमी पर्व मनाउँदै छन् ।

त्रेतायुगमा भगवान् विष्णुको सातौँ अवतारको रूपमा अयोध्यामा जन्मिएका श्रारीम मर्यादापुरूषका रूपमा परिचित छन् । अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौँ अध्यायमा उल्लेख छ ।

उनले रावणलगायतका आसुरी शक्तिको अन्त्य गरी पृथ्वीमा शान्ति ल्याएको इतिहास पुराणमा उल्लेख छ । कर्तव्यपालनाको दृष्टान्त दिँदा राम र लोककल्याणकारी राज्यको उदाहरण दिँदा रामराज्यको उल्लेख गरिन्छ ।

रामनवमी पर्वमा रामको चरित्र वर्णन गरिएका भागवतलगायतका पुराण, रामायणलगायतका ग्रन्थ पाठ गर्ने पनि परम्परा छ । ​रामनवमीको अवसरमा उनको जन्मभूमि भारतस्थित अयोध्या र ससुराली नेपालस्थित जनकपुरक्षेत्रमा उत्सव चल्छ ।

काठमाडौंमा बत्तीसपुतली र पाशुपतक्षेत्रस्थित राममन्दिरमा भक्तजनको घुइँचो लागेको छ । रामनवमीकै दिन वासन्ती नवरात्र पूरा हुन्छ ।

२०८२ सालमा दुई रामनवमी परेको छ । यसअघि वैशाख ५ गते यो पर्व परेको थियो ।रामनवमीका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित : २०८१ चैत्र २४, आईतवार ०७:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ