श्रीरामको आदर्शबाट सिकेर समाजमा शान्ति र एकता कायम गरौं : उपराष्ट्रपति यादव


काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले रामनवमी पर्वले भगवान् श्रीरामको आदर्श, सत्य, धर्म र मर्यादाप्रतिको आस्थालाई बलियो बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।

रामनवमी, २०८१ को शुभकामना दिँदै उनले यो पर्वले श्रीरामले कर्तव्य पालना गरेर समाजमा शान्ति, सद्भाव र न्याय कायम गरेको सकारात्मक सन्देश दिएको बताए । उनले श्रीरामको आदर्शलाई आत्मसात् गरेर देश र समाजमा एकता, समृद्धि र प्रगतिका लागि प्रण गर्ने अवसरका रूपमा यो पर्वलाई लिनुपर्नेमा जोड दिए ।

श्रीराम हिन्दू समाजमा धर्म र संस्कृतिको प्रेरक रहेको उल्लेख गर्दै उनले श्रीरामले शास्त्रको ज्ञानलाई आफ्नो चरित्रमा उतारेर संसारलाई धर्मको बाटोमा हिँड्न सकिन्छ भन्ने सन्देश दिएको बताए ।

‘श्रीरामजस्तै हाम्रो जीवन पनि चरित्र प्रधान हुनुपर्छ। उनको जीवन सत्य, धर्म र नैतिकताको प्रतीक थियो, त्यसलाई हामीले आफ्नो जीवनमा अपनाउनुपर्छ,’ उनले सन्देशमा भनेका छन् ।

रामनवमीमा गरिने भजन, कीर्तन र उपासनाले नागरिकलाई भक्ति र आध्यात्मिकताको बाटोमा लैजाने र मानिसमा नैतिकता, धार्मिकता, परोपकार एवं जनकल्याणको भावना जगाउने उनको भनाइ छ ।

‘हाम्रा पर्वहरू सद्भाव, जनकल्याण, नैतिकता र असल चरित्रको आधार हुन् । यसलाई भक्ति, अध्यात्म र नैतिकताको सेतु बनाएर देश र समाजमा शान्ति, मंगल र कल्याणको भावना जगाउने प्रयास गर्नुपर्छ,’ उनले सन्देशमा भनेका छन् ।

उनले मानव कल्याण, देश र समाजमा समृद्धि, सद्भाव, भाइचारा र मैत्रीभाव जस्ता सकारात्मक कुरालाई सबैले अपनाएर अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताए ।

‘रामनवमी केवल उत्सव होइन, हाम्रो जीवनलाई श्रीरामको आदर्शसँग जोड्ने मंगलमय अवसर पनि हो। यो अवसरमा श्रीरामजस्तै असल र मर्यादित सङ्कल्पका साथ अघि बढ्न सबैलाई प्रेरणा मिलोस्,’ उनले भनेका छन् । रासस

प्रकाशित : २०८१ चैत्र २४, आईतवार ०७:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ