वैशाख दोस्रो साताभित्रै एकीकरण गर्ने जनमत र नागरिक उन्मुक्ति पार्टीको निर्णय


काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच बैशाखको दोस्रो साताभित्र पार्टी एकीकरण गर्ने गरी नेतृत्वबीच छलफल भएको छ । दुई पार्टी एकीकरणका लागि खाका तय गर्न जनमत र नागरिक उन्मुक्तिबीच बर्दियाको सुन्दरपुरमा बसेको बैठकले बैशाखभित्र पार्टी एकीकरण गर्ने निर्णय गरेको हो ।

त्यसका लागि दुवै पार्टीले पार्टी एकताको मोडालिटी तय गरिसकेको छ भने दुवै पार्टीको विधानलाई प्रतिस्थापन गर्नका लागि ६ सदस्य कार्यदल पनि गठन गरेको छ । एकताका लागि गठित कार्यदलले एकीकृत पार्टीको अध्यक्ष, उपाध्यक्षसहित केन्द्रीय सदस्यहरूको टुंगो लगाइसकेको नाउपाका संस्थापक अध्यक्ष रेशमलाल चौधरीले जानकारी दिए ।

दुई पार्टीबीच एकीकृत पार्टीको अध्यक्षमा जनमत पार्टीका अध्यक्ष सीके राउत र उपाध्यक्षमा नागरिक उन्मुक्तिका अध्यक्ष रन्जिता श्रेष्ठ रहने भद्र सहमति भए पनि शीर्ष तहबाट टुंगिन बाँकी छ । पार्टीको संरक्षकमा भने नागरिक उन्मुक्तिका संस्थापक अध्यक्ष रेशम चौधरी रहने पनि सहमति भएको छ । पार्टीको नाम र चुनाव भने एउटाको नाम भए अर्कोको चुनाव चिह्न राख्ने सहमति गरिए पनि टुंगो लगाउन बाँकी छ ।

जनमत र नाउपा एकीकृत भएर बन्ने नयाँ पार्टीको घोषणा बैशाख पहिलो साता गर्ने गरी तयारी भइरहेको जनमतका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए । एकताका लागि दुवै दलका तर्फबाट तीनतीन जना रहेको ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।

प्रकाशित : २०८१ चैत्र २४, आईतवार १७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ