प्रभु साहले काठमाडौंमा देखाए शक्ति, सिंहदरबार लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य बनेको आरोप


काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सिंहदरबारमा लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा भएको बताएका छन् ।

आइतबार जनआन्दोलन दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘तेस्रो जनआन्दोलन’को सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले नेताहरुले जतिसक्दो चाँडो सिंहदरबार खाली गर्दा नै उनीहरुको भलाई हुने बताए ।

‘लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरूले सिंहदरबार खाली गर्न ढिलाई गरे जनताले सिंहदरबारभित्र छिरेर कठालोमा समातेर गलहत्याउने छन्,’ उनले भने ।

उनले नेताहरुलाई राजा बनाउनको लागि नेपाली जनता नलडेको भन्दै साहले जनआन्दोलन र जनयुद्धपछि प्राप्त उपलब्धिहरु पनि अहिलेका शासकहरूले बेचेर खाएको गम्भीर आरोप लगाए ।

सिंहदरबारमा लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा भयो : प्रभु साह

साहले देशमा नेताहरूको आसेपासे मालामाल भएको, तर जनता बेहाल अवस्थामा रहेको चित्रण गरे । उनले भने, ‘हामी हेर्न सक्छौँ, लुट र भ्रष्टाचार बढेको छ । जनता लाचार बन्नुपरेको छ । नेताहरुको छोराछोरी विदेशमा मोजमस्ती गरिरहेका छन्, तर गरिबका छोराछोरी परिवार पाल्नको लागि विदेशमा मरिरहेका छन् । देश उजाड छ, जनता निराश छन् ।’

साहले देशमा अहिले बिना घुस र कमिशन कुनै काम हुन नसक्ने परिस्थिति आएको बताए । उनले आफूहरूले थालेको आन्दोलनको वेगलाई अहिलेका नेताले रोक्न नसक्ने चेतावनी दिए ।

साहले काठमाडौंमा कवाड व्यवसाय र मजदुरहरुमाथि चरम अत्याचार गरेको भन्दै काठमाडौं महानगर र यसको नेतृत्व बालेन्द्र साहको ज्यादतीको पनि विरोध गरे । उनले कवाडमा आवद्धहरुलाई राज्यले राम्रो काम गरेको भनेर पुरस्कृत गर्नुपर्नेमा उल्टै अपराधीजस्तो दुःख दिएको र आतंकको वातावरण सिर्जना गरेको भन्दै त्यसको विरोध गरे ।

प्रकाशित : २०८१ चैत्र २४, आईतवार १७:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ