एमाले सिरहा अधिवेशन– लीलानाथ श्रेष्ठको दाउ नसप्रिदा नेतृत्व चयन अन्यौलमा !


सिरहा । चैत २६ गते मंगलवार सिरहा सदरमुकामस्थित क्याम्पसमा नेकपा एमाले सिरहाको ११ औं अधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले गरे ।

चैत २८ गतेसम्म चल्ने भनिएको अधिवेशनबाट एमाले सिरहाको नयाँ नेतृत्व चयन गर्नुपर्ने थियो । तर स्थायी समिति सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठको दाउ नसप्रिदा नेतृत्व चयन अन्यौलमा परेको छ ।

नेतृत्व चयन नहुँदा अधिवेशनको समय समेत लम्बिएको छ । सहमती नजुट्दा भोली विहान ८ बजे बस्नेगरी आज बैठक स्थगित गरिएको एक नेताले जानकारी दिए ।

एमाले अध्यक्ष ओलीले अधिवेशन उद्घाटन समारोहमा बोल्दै सहमम्मत नेतृत्व चयन नभए स्वस्थ प्रतिस्पर्धाबाट गर्न सुझाव दिएका थिए ।

तर एमाले स्थायी समिति सदस्य श्रेष्ठ लोकतान्त्रिक प्रक्रिया (चुनाव)बाट नेतृत्व चयन गर्न डराइरहेका छन् । चुनावमा गए आफू अनुकुल जिल्ला कमिटी नबन्ने डरले उनलाई सताइरहेको छ । उनकै कारण नेतृत्व चयनमा ढिला भइरहेको छ।

जिल्लामा आफ्नो हुकुमत (वर्चश्व) कायम राख्न लीलानाथ श्रेष्ठले सर्वसम्मतीको नाउमा आफू अनुकुल ‘एसम्यान’लाई नेतृत्व सुम्पिन चाहेका छन् ।

अहिलेसम्म जिल्ला अध्यक्षका लागि चारजना खुलेका छन् । स्रोतका अनुसार अशोक यादव, फुलेश्वर नायक, रामविलास साह र रामकुमार साह अध्यक्ष बन्ने लविङ गरिरहेका छन् ।

रामविलास साह र रामकुमार साहमध्ये एकजनालाई लीलानाथ श्रेष्ठले अध्यक्ष बनाउन खोजेको स्रोतको दावी छ । तर अधिकांश अधिवेशन प्रतिनिधि भने अशोक यादवलाई जिल्ला अध्यक्ष बनाउने पक्षमा उभेका छन् ।

हुन त नेतृत्व चयन गर्न गंगाप्रसाद यादवको अध्यक्षतामा अध्यक्ष मण्डल गठन भएको छ । तर अध्यक्ष मण्डल देखाउने दाँत मात्र बनेको छ । नेतृत्व चयनमा लीलानाथ श्रेष्ठले हस्तक्षेप गर्दा नै अन्यौलता सृजना भएको एकजना अधिवेशन प्रतिनिधिले टुडेखोजलाई बताए ।

ति प्रतिनिधिले भने, ‘लीला जी अध्यक्ष र उपाध्यक्षसहित बहुमत आफ्नो पक्षमा रहनेगरी जिल्ला कमिटी बनाउन खोजेका छन् । उपाध्यक्ष त आफ्नै भाई श्याम श्रेष्ठलाई बनाउने पनि तयारी छ ।’ श्याम अहिले गोलबजारका मेयर हुन् ।

लीलानाथ श्रेष्ठकै सर्वसम्मतको अडानका कारण अधिवेशनको आज अन्तिम दिन पनि नेतृत्व चयन भएन । भोली ८ बजेसम्मका लागि बैठक स्थगित गर्दा सबै प्रतिनिधि रिसाएर घर फर्केका छन् ।

प्रकाशित : २०८१ चैत्र २८, बिहीबार १९:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ