एमाले सिरहाको अध्यक्षमा अशोक यादव सर्वसम्मत, लीलालाई झट्का !


सिरहा । नेकपा एमाले सिरहाको ११औं अधिवेशनबाट अध्यक्षमा अशोक यादव सर्वसम्मत निर्वाचित भएका छन् ।

तीनदिन चल्ने भनिएको अधिवेशनको आज पाँचौं दिन सर्वसम्मत १३५ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरिएको हो । जसअनुसार अध्यक्षमा अशोक यादव, उपाध्यक्षमा डा. नवीन यादव, सचिवमा प्रदीप महासेठ, सहसचिवमा शिवशंकर महतो र खेमलक्ष्मी श्रेष्ठ रहेका छन् ।

अध्यक्षमा सर्वसम्मत यादव पार्टी सचिव रघुवीर महासेठ समूहका हुन् । उनी मधेश प्रदेशका पूर्वसांसदसमेत हुन् ।

उपाध्यक्ष डा. नवीन सिरहा नगरपालिकाका मेयर हुन् । उनी कुनै समूहमा खुलेका छैनन् । यद्यपि उनी रघुवीर महासेठ निकट रहेको स्रोतको दाबी छ ।

सहसचिव महतो पनि रघुवीर महासेठ समूहकै हुन् । उनी धनगढीमाई नगरपालिकाका मेयरसमेत हुन् ।

पदाधिकारीहरुमध्ये सचिव प्रदीप महासेठ र सहसचिव खेमलक्ष्मी श्रेष्ठ पार्टीका स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ निकट छन् ।

सिरहा नेता श्रेष्ठको गृहजिल्ला हो, तर उनले जिल्लामा पार्टीभित्र वर्चश्व कायम राख्न सकेनन् । सिरहामा नेता महासेठले अध्यक्षसहित बहुमत सदस्य सर्वसम्मत गराएर मधेश इन्चार्ज श्रेष्ठलाई ठूलो झड्का दिएको चर्चा हुन थालेको छ ।

नेता श्रेष्ठले सर्वसम्मतको नाममा आफू निकट रामविलास साहलाई अध्यक्ष बनाउने कसरत गरेका थिए, तर नेता महासेठ समूहले निर्वाचनमा जाने अडान छाडेनन् ।

निर्वाचनमा गएपछि पराजित हुने अवस्था देखिएपछि नेता श्रेष्ठले अन्ततः सचिव र एउटा सहसचिवमा चित्त बुझाएको एक नेताले बताए ।

प्रकाशित : २०८१ चैत्र ३०, शनिबार २०:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ