वीरगञ्ज झडप- कर्फ्यु जारी, सडकमा सेना गस्ती गर्दै, सिडिओले बोलाए सर्वदलीय बैठक


जनकपुरधाम । वीरगञ्जको छपकैयामा शनिवार दुई समुदायबीच भएको झडपका कारण प्रशासनले लगाएको कर्फ्यु जारी छ ।

कर्फ्यु लगाएको अवस्थामा समेत प्रदर्शन गरिएकाले प्रहरीले गोली चलाउँदा एक वृद्ध घाइते भए । अवस्था अनियन्त्रित बनेपछि राति सेना समेत परिचालन गरियो । आज बिहानदेखि अवस्था सामान्य बनेको छ ।

झडपमा प्रहरीसहित ४३ जना घाइते भएका थिए । नारायणी अस्पतालका प्रवक्ता डा। उदयनारायण सिंहले प्रहरीसहित ४३ जना घाइते अस्पतालमा भर्ना भएको बताए । उनका अनुसार कतिपय सामान्य उपचारपछि घर फर्किसकेका छन् । केही अझै उपचाररत छन् ।

झडपको स्थिति नियन्त्रणमा लिन करिब ८ सय प्रहरी परिचालन गरिएको थियो । प्रहरीले करिब ७५ सेल आश्रुग्यास हाने तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जारी गरेको आदेश अनुसार आज मध्यान्हसम्म कर्फ्यु रहनेछ । कर्फ्युका कारण पसलहरू बन्द छ । बजार सुनसान देखिएको छ ।

हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रामा घरको छतबाट मुस्लिम समुदायले ढुंगा हानेपछि झडप सुरु भएको हिन्दू समाजको आरोप छ । समाजले शनिवार साँझ पत्रकार सम्मेलन गरेर घटनाको छानबिन गरी दोषीहरूमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको हो ।

दुई समुदायबीच उत्पन्न परिस्थितिलाई लिएर प्रमुख जिल्ला अधिकारी आचार्यले सर्वदलीय बैठक डाकेका छन् । प्रशासकीय अधिकृत दीपक पटेलले सिडिओले अहिले सर्वदलीय बैठक बोलाएको र छलफल भइरहेको बताए ।

प्रकाशित : २०८१ चैत्र ३१, आईतवार ०८:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ