गंगासागरमा निर्माणाधीन स्व. रामनारायण मिश्र स्मृति भवन निर्माण रोक्न अदालतको आदेश


जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीको पूर्वी डिलमा भइरहेको स्व. रामनारायण मिश्र स्मृति भवन निर्माण तत्काल रोक्न आदेश जारी भएको छ ।

उच्च अदालत जनकपुरधामले स्व. रामनारायण मिश्र स्मृति भवन तत्काल अगाडि बढाउने कार्य नगर्नु, नगराउनु, निर्मायण कार्य सुरु गरेको भए यथास्थितिमा राख्नु भनी आदेश जारी भएको हो । उच्चका न्यायाधीश राजुराम सिलवालले सो आदेश दिएका हुन् ।

जनकपुरधामका उपप्रमुख किशोरी साह स्व. रामनारायण मिश्र स्मारक समितिका संयोजक हुन् । उनकै अगुवाइमा वैशाख ३ मा गंगासागर पोखरीको पूर्वी डिलमा स्मृति भवन निर्माणको शिलान्यास गरिएको थियो । तर सोही दिन शिलान्यास स्थलमा स्थानीयले तोडफोड गरेपछि स्मृति भवन निर्माण विवादित बनेको छ ।

स्मृति भवन निर्माणका लागि भौतिक पूर्वाधार विकास कार्यालय जनकपुरधामले ५ करोड ७४ लाख ९६ हजार १२२ रुपैयाँ १९ पैसा (भ्याटसहित)मा ठेक्का लगाएको छ । सो निर्माणको ठेक्का पाएको एम/एस कर्मा बाबा जेभी जलेश्वर २, महोत्तरीले निर्माण अगाडी बढाएको छ ।

स्मृति भवन शिलान्यास नगरेकै अवस्थामा गुठी संस्थान जनकपुरधामले पनि तत्काल निर्माण अगाडी नबढाउन निर्देशन दिएको थियो । तर राजनीतिक दबाबका कारण गुठी संस्थाले पछि गंगासागर पोखरीमा असर नपर्ने गरी निर्माण गर्न पत्राचार गरेको छ ।

गुठी संस्थानकै पत्रको आधारमा निर्माण अगाडि बढाएपछि महेन्द्र प्रसाद साहले उच्च अदालतमा उत्प्रेषण मुद्दा दर्ता गराएका थिए ।

सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७५ मा भवन निर्माण गर्दा सम्पदा क्षेत्रमा रहेको सार्वजनिक पोखरी जलासयको डिलबाट ५ मिटर जग्गा छाड्नुपर्ने उल्लेख छ । तर स्मृति भवन निर्माण गर्दा ५ मिटर नछाडिएको उच्चको आदेशमा जिकिर गरिएको छ ।

प्रकाशित : २०८२ बैशाख ७, आईतवार १८:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ