शपथ लिएको भोलिपल्टै मधेशका मिडिया काउन्सिल अध्यक्ष उपाध्यायमाथि भ्रष्टाचार मुद्दा


जनकपुरधाम । मधेश प्रदेश सरकार मातहतको मिडिया काउन्सिलका नवनियुक्त अध्यक्ष बाराका कमलकुमार उपाध्यायमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले मंगलबार उनीसहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । सोमबार मात्रै उनलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनियताको शपथग्रहण गराएका थिए ।

अख्तियारले उपाध्याय, बारा पचरौता नगरपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारीमाथि ३ लाख ५२ हजार ५ सय ६० रुपैयाँ बिगोसहित मुद्दा दायर गरेको छ ।

नगरपालिकाले गरेको टेण्डर विज्ञापन सार्वजनिक खरिद ऐनलाई छलेर गरेको उनीहरुमाथि आरोप छ ।

बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐनबमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने प्रावधान छ । तर, उपाध्याय अध्यक्ष रहेको केएस मल्टिपर्पस प्रालिबाट प्रभाव दैनिक पत्रिकामा एक प्रति मात्र बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भुक्तानी दिएको पुष्टि भएपछि तीनै जनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० को देहाय (ङ) बमोजिमको कसूर भएकोले बिगोसहित सोही ऐनको दफा ८ को उपदफा ९१० बमोजिम अख्तियारले कैद पनि माग दाबी गरेको छ ।

मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीले सो विषयमा भर्खरै जानकारी प्राप्त गरेको र छलफल गरिरहेको बताए ।

प्रकाशित : २०८२ बैशाख ९, मंगलवार १६:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ