आज अपराह्नदेखि मेघ गर्जनसहित हल्का वर्षा, भोलिदेखि तापक्रम घट्ने अनुमान


काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

यसका साथै बंगालको खाडिबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ ।

जसका प्रभावले आइतबार अपराह्नदेखि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए । उनका अनुसार सोमबारदेखि तापक्रम घट्नेछ ।

उनका अनुसार आजै अपराह्नबाट लगभग प्रत्येक दिन वर्षाको सम्भावना छ । सोमबार अपराह्नबाट काठमाडौंलगायत पूर्वी आधा भेगमा राम्रो वर्षा हुने उनले सम्भावना देखाएका छन् ।

उनले सोमबारबाट तापक्रममा उल्लेखनीय कमी आउनेसमेत बताएका छन् ।

यता महाशाखाले भने आइतबार कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने प्रक्षेपण गरेको छ ।

मधेसप्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ । देशको हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको बताएको छ ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने महाशाखाको भनाइ छ।

कोशी र मधेस प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित : २०८२ बैशाख १४, आईतवार ०७:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ