सिरहामा एक युवकमाथि खुकुरी प्रहार, तीन जना पक्राउ, मुख्य व्यक्ति फरार


सिरहा । सिरहामा एक युवकमाथि खुकुरी प्रहार भएको छ । लहान नगरपालिका–३ स्थित दंग्राहा टोलमा मोटरसाइकलले छोएको निहुँमा विवाद हुँदा स्थानीय २७ वर्षीय देवकुमार महतोमाथि खुकुरी प्रहार भएको हो ।

प्रहरीका अनुसार, यो घटना गत बुधबारको हो । स्थानीय जिवछ महतोका छोरा २१ वर्षीय मनिष महतोले चलाइरहेको मोटरसाइकल स्थानीय नथुनी महतोका छोरा देवकुमारलाई छोएको थियो । त्यसपछि भनाभन हुँदै विवाद भएको थियो ।

अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक समूहले देवकुमारमाथि कुटपिट गरिरहेको र एक जनाले खुकुरी प्रहार गरिरहेको देखिन्छ । उक्त भिडियोमा देवकुमारमाथि कुटपिट र खुकुरी प्रहार गर्नेहरू जिवछकै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ ।

यस घटनामा संलग्न तीन जना अहिले प्रहरी हिरासतमा छन् । पीडित पक्षबाट आएको ज्यान मार्ने उद्योगको जाहेरीका आधारमा जिवछसहित उनकी श्रीमती ६० वर्षीया सीतादेवी महतो र छोरा मनिषलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी कैलाश राईले बताए ।

तर, खुकुरी प्रहार गर्ने जिवछका छोरा १९ वर्षीय मुकेश महतो भने अझै फरार छन् । उनको खोजी कार्य भइरहेको डीएसपी राईले जनाए । यता, कुटपिट तथा खुकुरी प्रहारबाट घाइते भएका देवकुमारको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ ।

प्रकाशित : २०८२ बैशाख १९, शुक्रबार १०:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ