हाम्रो स्याटलाइट राख्ने स्पेस नै हराएछ, खोजेर ल्याएका छौँ : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिक्षमा नेपालले आफ्नो स्याटलाइट राख्ने ठाउँ नै हराएको र आफूहरूले खोजेर फेला पारेको बताएका छन् ।

राष्ट्रिय सूचना प्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले प्रविधिमा आत्मनिर्भरता र राष्ट्रिय सुरक्षाका विषय जोड्दै आफ्नै स्याटलाइट हुनु आवश्यक रहेको धारणा राखेका थिए ।

‘म पहिलोपल्ट प्रधानमन्त्री हुँदादेखि नै स्पेसमा हामीलाई हाम्रो स्याटलाइट चाहिन्छ भनेर खोजी गरेको थिएँ,’ उनले भने, ‘हाम्रो त स्यालटलाइट राख्ने स्पेस नै गायब भएछ । त्यो खोजेर हाम्रो स्याटलाइट राख्ने स्पेस ल्याएका छौँ । त्यसलाई अझै ठीक बनाउनुपर्नेछ ।’

प्रधानमन्त्री ओलीले प्रविधिमा आत्मनिर्भर हुनु आवश्यक रहेको भन्दै अर्काले बनाएको प्रविधिमा भर परे राष्ट्रिय सुरक्षा र गोपनीयता संकटमा पर्न सक्ने चिन्ता व्यक्त गरे ।

‘व्यक्तीको गोपनियता हुन्छ, राष्ट्रको पनि हुन्छ, त्यसलाई हामीले व्यवस्थापन गर्नुपर्छ,’ उनले भने, ‘जबसम्म हामीसँग हाम्रो आफ्नै स्याटलाइट हुँदैन र यो प्रविधिलाई हामी आफैँले आफ्नो नियन्त्रणमा चलाउन सक्दैनौँ, त्यस्तो अवस्थामा हाम्रो डेटा सिस्टम कति सुरक्षित हुन्छ भन्न सकिँदैन ।’

२०७६ वैशाख ५ मा अमेरिकी अन्तरिक्षत निकाय नासाको सहयोगमा नेपालले पहिलोपटक अन्तरिक्षमा आफ्नै स्याटलाइट नेपाली स्याट-१ अमेरिकाबाट प्रक्षेपण गरेको थियो ।

करिब एक किलो तौल भएको उक्त स्याटलाइट ‘एन्टारेस’ नामक यानमा राखेर अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्‍याइएको थियो । उक्त नानो स्याटलाइटको स्मरण गर्दै प्रधानमन्त्री ओली हाल त्यो स्याटलाइट सक्रिय नरहे पनि उनका अनुसार अन्य प्रविधिकर्मीहरू नयाँ प्रयासमा लागिरहेका छन् ।

दीर्घकालीन रूपमै सञ्चालन गर्न सकिने भू-उपग्रह निर्माण र सञ्चालनका लागि उल्लेख्य लगानी आवश्यक पर्ने र जमिनमा पनि पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफ्नै भूउपग्रह सञ्चालनको आधार तयार गर्ने उल्लेख छ ।

राष्ट्रपति पौडेलले वाचन गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘सञ्चार र निगरानी क्षमतामा वृद्धि गर्न नेपालको आफ्नै भूउपग्रह सञ्चालनको आधार तयार गरिनेछ ।’

प्रकाशित : २०८२ बैशाख २०, शनिबार १७:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ