एमाले धनुषा अधिवेशन- सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल, आज चुनाव हुँदै


जनकपुरधाम । नेकपा एमाले धनुषाको ८औं अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि आज निर्वाचन हुने भएको छ ।

एमाले ८औं जिल्ला अधिवेशनको उद्घाटन बरिष्ट उपाध्यक्ष ईश्वर पोखरेलले वैशाख २० मा गरेका थिए । बन्दसत्रको क्रममा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्दा आधा दर्जन बढी अध्यक्षका आकांक्षी देखिएका थिए ।

तर निर्वाचनमा गएपछि भोला यादव र लक्ष्मी नारायण यादवको मात्रै अध्यक्ष पदमा उम्मेदवारी परेको छ । स्रोतका अनुसार भोला एमाले सचिव रघुवीर महासेठ समूहबाट अध्यक्षमा भिडेका हुन् ।

धनुषामा पनि एमालेभित्र दुई समूह सक्रिय छन् । रघुवीर समूह पहिलेदेखि सक्रिय छन् भने मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र संजीव झा ‘सुरज’सहितका नेताहरु पनि आफ्नो समूह तयार पारेका छन् ।

दुबै समूहले प्यानल बनाएरै उम्मेदवारी दिएको छ ।

उपाध्यक्षमा जयप्रकाश सुनरैत यादव र तेजनारायण यादव तथा सचिवमा दिप नारायण ठाकुर (दिपन) र धिरेन्द्र कुमार मण्डलको उम्मेदवारी परेको छ ।

उपसचिवमा सचिव विक्रम थापा, सुरेश ठाकुर र हरि किशोर यादव तथा उपसचिव महिलातर्फ किरण कापर, रुका कुमारी मिश्र र सारदा घिसिङले उम्मेदवार बनेकी छन् ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन हुनेछ । जसमध्ये केहि पालिबाट सदस्य सर्वसम्मत चयन भएको र अधिकांश पालिकामा सदस्यका लागि समेत मतदान हुने बताइएको छ ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा निर्वाचनको तयारी भइरहेको छ । आज विहान ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोकेपनि तयारी नपुग्दा विहान १० बजेदेखि हुने बुझिएको छ ।

रघुवीर र जुलीको हैकम तोड्न मात्र चुनाव भइरहेको एक नेताले बताए । उनले भने, ‘यो बैमानीको अधिवेशन हो, एकताको होइन् । रघुवीर र जुली दम्पती मिलेर सधैं पुराना तथा योग्य नेताहरुलाई पाखा मात्र लगाए । त्यसैले यो पटक परिणाम जेसुकै होस् भनेर चुनावमा गयौं ।’

ति नेताका अनुसार अधिवेशन प्रतिनिधि अर्थात् मतदाता ६३५ जना छन् । उनीहरुले निर्वाचनमा मतदान गर्नेछन् । आफ्ना पक्षका मतदाता बनाउन पनि रघुवीरले धेरै बेइमानी गरेको उनको आरोप छ ।

प्रकाशित : २०८२ बैशाख २३, मंगलवार ०८:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ