सबै नेताको सम्पत्ति छानबिन गरौं, सुरुवात मबाटै होस् : राजेन्द्र लिङ्देन


काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा भ्रष्टाचार र अनियमितता अन्त्य गर्ने हो भने सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारेको छलफलका क्रममा उनले यस्तो माग राखेका हुन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका लिङ्देनले नेताहरूको सम्पत्ति छानबिनको सुरुवात आफूबाट गर्न आग्रह गरे ।

उनले भ्रष्टाचार गाउँमा बस्नेले नभएर देशको नेतृत्व गर्ने तहबाटै भइरहेको भन्दै अहिलेको भ्रष्टाचार छानबिन पद्दतिप्रति असन्तुष्टि व्यक्त गरे । सरकार र दलका नेताहरूले नै नियुक्त गरेका अख्तियार दुरुपयोग अनुसन्धान र अदालतका मानिसबाट भ्रष्टाचारको उचित छानबिन हुन नसक्ने उनले स्पष्ट पारे ।

‘भ्रष्टाचार अन्त्य गर्ने हो भने सबैभन्दा पहिले नेताहरूको सम्पत्ति जाँच हुनुपर्छ । भ्रष्टाचार गाउँमा बस्ने मानिसले होइन नेतृत्व गर्ने नेताले गर्ने हो । तर त्यसको छानबिन तिनीहरूले नै नियुक्त गरेकाले गर्छन् । अख्तियार र अदालतमा नेताले नियुक्त गरेका व्यक्तिहरू छन्,’ उनले भने, ‘उनीहरूबाट निष्पक्ष छानबिन हुँदैन ।’

राजसंस्था पक्षधर दल राप्रपाका अध्यक्ष लिङ्देनले नेताहरूको सम्पत्ति छानबिन नभए यो व्यवस्था चाँडै परिवर्तन हुने चेतावनी दिए । ‘अब हामी यस व्यवस्थाविरुद्ध लड्छौं । यही अवस्था रहिरहने हो भने चाँडै व्यवस्था परिवर्तन हुन्छ,’ उनले थपे ।

लिङ्देनले अब नेताहरूबाट भ्रष्टाचार नगर्ने प्रतिबद्धता आउन जरुरी रहेको बताए । उनले सरकारले नीति तथा कार्यक्रममा प्रतिबद्धता जनाउने तर व्यवहारमा लागू नगर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए ।

प्रकाशित : २०८२ बैशाख २६, शुक्रबार १६:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ