महाकालीमा तटबन्ध बनाएको विरोधमा भारतीय दूतावासअगाडि प्रदर्शन


काठमाडौं । भारतीय सरकारले नेपाली भूमिमा हस्तक्षेप गरेको भन्दै ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ‘ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ ले लैनचौरस्थित भारतीय दूतावासअघि विरोध प्रदर्शन गरेको छ ।

भारतले महाकाली नदीमा एकपक्षीय रुपमा तटबन्ध निर्माण गरिरहेको र त्यो रोक्न दबाब दिँदै प्रदर्शन गरिएको हो । नेपाली भूमि फिर्ता माग्दै दूतावासलाई ज्ञापन पत्र पनि बुझाइएको छ ।

भारतीय कदमहरूलाई आक्रामक, अस्वीकार्य र दक्षिण एसियाको शान्तिपूर्ण स्थायित्वमा खलल पुर्‍याउने खालको भएको ज्ञापन पत्रमा उल्लेख छ । पहलगाम, कश्मीरमा एक नेपाली नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै निर्दोष नेपालीको मृत्युमा भारत पूर्ण जिम्मेवार रहेको जिकिरसमेत गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘भारतले हालै कश्मीरमा कठोर कदम चालेको, घर भत्काएको, नागरिकहरूलाई थुनामा राखेको र अभिव्यक्ति तथा आवागमन स्वतन्त्रता कुण्ठित गरेको छ । यसका कारण मानव अधिकार उल्लंघन र सामूहिक सजायको डर बढेको छ । भारतले पाकिस्तानमाथि हमला गर्ने तयारी गरिरहेको, नेपाली नागरिकहरूको मृत्युको जिम्मेवारीबाट पन्छिन खोजिरहेको, र पानीसम्बन्धी सम्झौताहरूको अवज्ञा गर्दै नेपाली नदीहरूमा जल आतंक फैलाएको छ ।’

भारतद्वारा लिम्पियाधुरा क्षेत्रमा अर्धसैनिक बल तैनाथ गर्नु, नेपाली भूमि अतिक्रमण गर्नु र नेपाली सेनामा नेपाली मूलका नागरिकहरूलाई ‘मानव ढाल’ को रूपमा प्रयोग गर्नु अमानवीय र अक्षम्य रहेको मोर्चाले उल्लेख गरेको छ।

पत्रमा अन्त्यमा भनिएको छ, ‘भारतले नेपाली मूलका सैनिकहरूलाई अग्रपंक्तिमा पठाएर नेपाल र मैत्रीपूर्ण राष्ट्रहरूसँगको सम्बन्ध बिगार्न खोज्नु हुँदैन । दोषीहरूलाई कारबाही हुनुपर्छ।’

यो विरोधपत्र ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल र ग्रेटर नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधि विकल्पले हस्ताक्षर गरेका छ्न् ।

प्रकाशित : २०८२ बैशाख ३०, मंगलवार १५:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ