प्रहरीले बरामद गरेको चरेस अदालत पुर्‍याउँदा इँटा–ढुंगामा परिणत, मच्यो खैलाबैला !


पटना । नेपालमा पनि बेला बेला बरामद भएको सुनलाई प्रहरीले अदालत लैजाँदा पित्तल बनाएको सुनिन्छ । बरामद भएको गाँजा चरेस पनि नक्कली निस्किन्छ ।

नेपाल जस्तै अनौठो घटना छिमेकी भारतको बिहार राज्यमा भएको छ । बरामद गरेको लागुऔषध चरेसलाई त्यहाँको रेलवे प्रहरीले इँटा र ढुंगामा परिणत गरेपछि हंगामा भएको छ । यो केवल प्रहरीको लापरबाही मात्रै नभएर ठूलो गिरोहको संलग्नता रहेको भन्दै उनीहरूले गम्भीर ढंगले अनुसन्धान गर्न माग गरेका छन् ।

मोतिहारीमा रेल प्रहरीको कर्तुतले सबैलाई अचम्ममा पारेको छ। केही दिनअघि २४ किलो चरेस बेवारिसे अवस्थामा बरामद गरिएको थियो । त्यसलाई अदालका अधिकारीले समेत शिलबन्दी गरेका थिए ।

तर, जब अदालतमा पेश गरियो, त्यतिखेर चरेसको ठाउँमा इँटा भेटियो । यो देखेर अदालतका अधिकारी पनि पनि अचम्ममा परे । घटना मोतिहारीको सुगौली रेल थाना अन्तर्गतको हो ।

गत मार्च ५ तारिखका दिन आरपीएफ ९रेलवे सुरक्षा बल० र सुगौली रेल थाना प्रहरीको संयुक्त कारबाहीमा तीनवटा बेवारिसे झोला सुगौली स्टेशनबाट बरामद गरिएको थियो । खानतलासी गर्दा करिब २४ किलो चरेस भेटिएको थियो ।

इँटा भेटिएपछि खैलाबैला

यस घटनाको आधारमा आरपीएफ इन्चार्ज राजीव रञ्जन प्रताप सिंहको निवेदनमा एफआईआर दर्ता गरिएको थियो ।

जाहेरी दर्ता भएको दुई महिनापछि अदालतमा मजिस्ट्रेडसामु जब चरेसका पोका खोलियो, तब त्यहाँ इँटा र ढुंगा निस्कियो । चरेसको सट्टा इँटा भेटिएको समाचार फैलिएपछि अदालत परिसरदेखि रेलवे प्रहरी प्रशासनसम्म हंगामा मच्चिएको छ ।

यसबारेमा सुगौलीका सीओ कुन्दन कुमारले आफ्नैसामु तौल गरेर चरेसलाई सिल गरिएको बताउँदै त्यसपछि के के भयो आफूलाई जानकारी नभएको उल्लेख गरे ।

यता रेल एसपी वीणा कुमारीले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अनुसन्धानको आदेश दिएकी छन् । स्थानीयबासीले यो घटना सुगौली रेल प्रहरीले देखाएको चरम लापरवाहीको प्रमाण भन्दै आलोचना गरेका छन् ।

प्रकाशित : २०८२ बैशाख ३१, बुधबार १५:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ