रेशम चौधरीलाई चार घण्टा जेल पठाउने महिमान एक लाख धरौटीमा छुटे


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई चार घण्टाका लागि डिल्ली बजार जेल पठाउने गरी पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट एक लाख धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनी सोमबार नै धरौटी बुझाएर रिहा भएका छन् ।

विष्टले गत वैशाख १७ गते अनधिकृत रूपमा जिल्ला प्रहरी परिसरलाई पत्र लेखेपछि रेशमलाई प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरेर डिल्लीबजार कारागार चलान गरिएको थियो । उक्त पत्र लिएर उनी आफैँ जिल्ला प्रहरी परिसर काठमाडौं पुगेपछि प्रहरीले रेशमलाई तत्कालै पक्राउ गरेर डिल्ली बजार जेल चलान गरेको थियो ।

तर विष्टले लेखेको पत्र नै अनधिकृत भएको पुष्टि भएपछि रेशम चार घण्टापछि वैशाख १७ गते साँझ डिल्ली बजार जेलबाट रिहा भए ।

पत्र अनधिकृत रहेको पुष्टि भएलगत्तै सर्वोच्च अदालत प्रशासनले महिमानलाई प्रहरीको जिम्मा लगाएको थियो । उनले टीकापुर हत्याकाण्डका पीडितको आत्मालाई शान्ति दिन उक्त पत्र लेखेको बयान दिएका थिए ।

प्रकाशित : २०८२ जेष्ठ ५, सोमबार १९:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ