श्रीमतीको हत्या गरेर भागेका हरिराम यादव पक्राउ, छोरीको खोजी जारी


धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिका ५, बनिनियाँमा भएको जघन्य कर्तव्य ज्यान घटनामा फरार रहेका प्रतिवादी हरिराम यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, ०८१ साल फागुन १७ गते दिउँसो करिब १ बजे ४० वर्षीय यादवले आफ्नी २५ वर्षीया श्रीमती अञ्जलीमाथि कुटपिट गरी घरबाट निकालेका थिए ।

त्यसपछि हरिराम करिब तीनरचार दिनदेखि सम्पर्कविहीन रहेको र उनको घरमा ताला लागेकाले स्थानीयवासीले शंका जनाउँदै प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचनापछि खटिएको प्रहरी टोलीले हरिरामको घरको ताला फोडी जाँच गर्दा भुइँतलस्थित कुलदेवताको पूजाकोठामा नयाँ सिमेन्ट ढलान गरिएको पाइएको थियो ।

उक्त स्थानमा उत्खनन गर्दा करिव दुई फिटमुनिबाट नांगो अवस्थामा अञ्जलीको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनापछि यादव करिब १० महिनाकी छोरीसहित फरार थिए । अञ्जलीका पिता शिवधारी यादवले आफ्ना ज्वाईं हरिरामविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका थिए ।

जाहेरीका आधारमा जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति प्राप्त गरी खोजी जारी रहँदा बिहीबार (जेठ ८) बिहान करिब ९ बजे जनकनन्दनी गाउँपालिका ४ स्थित खजुरी रेल्वे स्टेसनबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।

थप अनुसन्धान जारी रहेको र उनकी छोरीको पनि खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८२ जेष्ठ ८, बिहीबार १७:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ