औरहीका अध्यक्ष शिवजीले गुपचुप आफ्नै खेतमा गाड्दैछन् बोर्डिङ !


सिरहा । औरही गाउँपालिका अध्यक्ष शिवजी यादवले गुपचुप रुपमा आफ्नै जग्गा (खेत)मा सरकारी कोषबाट बोर्डिङ गाडिरहेको फेला परेको छ ।

गापा अध्यक्षमा निर्वाचित भएलगत्तै शपथ लिदै शिवजीले किसानका लागि प्रत्येक चार विघा खेतमा एउटा बोर्डिङ र एउटा मोटर उपलब्ध गराउने घोषणा गरेका थिए । तर उनको घोषणा कागजमै सिमित छ ।

किसान सिंचाईको अभावमा राम्रोसंग खेती (उब्जा) गर्न पाइरहेका छैनन् । यो वर्ष बोर्डिङको योजना नै नराखेको जनप्रतिनिधी बताउँछन् । तर अध्यक्षकै खेतमा आज केहि मजदुर बोर्डिङ गाडिरहेको भेटिए ।

औरही गापा ५ स्थित गापा अध्यक्ष शिवजीको खेतमा बोर्डिङ गाडिरहेको फोटो पूर्ववडाध्यक्ष दिलिप यादवले सार्वजनिक गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘औरही गापामा किसान र सर्वसाधारण जनताको कल बोंडिगको आवश्कता छैन । कार्यकर्ता र मेयरको मात्र आवश्यकता छ । प्रमाणसहित हेरौ के भईरहेछ मेयरको आपनो खेतमा । आजको फोटो हो ।’

कर्मचारी स्रोतका अनुसार बोर्डिङ सरकारी कोषबाटै अध्यक्ष शिवजीको खेतमा गाडिदैछ । बोर्डिङको योजना गाउँपालिका र वडाले समेत राखेको छ । वडा नम्बर ३ मा पनि अहिले बोर्डिङ गाड्ने काम भइरहेको छ ।

औरहीमा अध्यक्ष, उपाध्यक्ष र तीनवटा वडाध्यक्ष जसपा नेपालबाटै निर्वाचित छन् । कार्यपालिकामा उनीहरुको बहुमत रहेकाले आफू अनुकुल व्यक्तिहरुलाई बोर्डिङ बाँड्दैछन् ।

जसपा नेपालकै एक नेताका अनुसार औरही गाउँपालिकामा बोर्डिङ किसानलाई नदिएको गुनासो त छदैछ । पार्टीका कार्यकर्ता पनि पाएका छैनन् । अध्यक्ष शिवजीले आफ्ना पक्कडका पर्सनल मान्छेलाई बोर्डिङ बाँड्दैछन् । जसपा नेपाल यहाँ बदनाम मात्र भइरहेको छ ।

प्रकाशित : २०८२ जेष्ठ १५, बिहीबार १५:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ