एमालेको स्पष्ट धारणा– गृहमन्त्रीको राजीनामा पनि आउँदैन, छानबिन समिति पनि बन्दैन


काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलले राखेका माग पूरा गर्न सम्भव नभएको बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआउने र प्रतिपक्षीले भनेजस्तो छानबिन समिति पनि गठन हुन नसक्ने बताएका हुन् ।

उनले भने, ‘गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुरै छैन । राजीनामा आउँदैन । छानबिन समिति पनि बनाउन आवश्यक छैन ।’

उनले गृहमन्त्रीलाई संसद्‌बाट जवाफ दिन वातावरण बनाउनुपर्ने र विपक्षीले पहिले गृहमन्त्रीको कुरा सुन्नुपर्ने बताए ।

संसद्को गतिरोध कायम राख्ने नियतका साथ प्रतिपक्षीले हल्का रूपमा अपरिपक्व तरिकाले राखेको विषयलाई पुनर्विचार गर्नुपर्ने उनले बताए ।

प्रतिपक्षीले सदनलाई बन्धक बनाएको उनको आरोप छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको दाबीसहित पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् । उनीहरूले उच्चस्तरीय छानबिन समिति गठनको पनि माग गरेका छन् ।

सत्तापक्ष र प्रतिपक्ष दुवैको अडानका कारण हिजो र आज बस्दै नबसी संसद् बैठक स्थगित भयो। बैठक भोलि दिउँसो १ बजे बस्ने सूचना टाँस गरिएको छ ।

प्रकाशित : २०८२ जेष्ठ २१, बुधबार १७:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ