रौतहटमा ट्रक र विद्युतीय गाडी ठोक्किए, दुई जनाको मृत्यु


रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ मंगलपुरमा बुधबार ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय गाडी र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको मालवाहक ट्रक साइडपट्टी ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर विद्युतीय गाडीमा सवार सर्लाही रामनगर १ खैरवाका ३० वर्षीय धीरेन्द्र ठाकुर र ३६ वर्षीया भगिया देवीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

गाडीमा सवार रहेकामध्ये दुईजना अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

उनका अनुसार विद्युतीय गाडीमा सवार १८ वर्षीय रानीकुमारी यादव (रामनगर) र १९ वर्षीय सरोज ठाकुर (दुर्गाभगवती गाउँपालिका–५, बडहर्वा) घाइते छन् ।

दुर्घटनापछि ट्रक चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–१३ निवासी ३२ वर्षीय ग्यालसेन थोकर र ईभी हाईस चालक सर्लाही रामनगर–३ निवासी २१ वर्षीय आकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित : २०८२ जेष्ठ २१, बुधबार १८:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ