पेटभरी खान माग्दा मृत्यू किन ?


  • राजेश विद्रोही

मे १, अर्थात् १३२ औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाई रहँदा सप्तरी राजगढ गाउँपालिका ५, मलेकपुरका ४५ वर्षीय मजदुर बुधु सदाको मृत्यु भयो । कारण थियो, बुधुले आफ्नो ठेकेदारसँग पेटभरी खान माग्दा उनलाई हातखुट्टा बाँधेर निर्घात रुपमा कुटपिट गरेका थिए । बेहोस अवस्थामा रहेका बुधुलाई तीन दिनपछि ठेकेदारले उनको परिवारलाई भारतीय सिमानामा बोलाएर जिम्मा लगाएका थिए । संयोग कस्तो मिल्यो भने उपचारकै क्रममा अन्तर्राष्ट्रिय मजदुर दिवसकै दिन उनको देहावसान हुन पुग्यो ।

बुधु हप्ता अगाडि ठेकेदारसँग भारतको जमुनानगरस्थित प्लाइउड फैक्ट्रीमा मजदुरी गर्न पुगेका थिए । दिनभर काठको भारी बोक्नुपर्थ्यो । खाना खानेबेला भने जहिलेपनि निस्तै नुनभात खाएर रात विताउनुपर्थ्यो । तर, त्यो निस्तै नुनभात पनि कहिले पेटभरी खान पाउँदैन्थ्यो । कहिले खाना सकेको हुन्थ्यो भने कहिले भाँडामा थोरै खाना हुन्थ्यो । बुधु नयाँ मजदुर थिए । भोकको कुरा त हो, कति दिन सहुन् । एकदिन ठेकेदारसँग उनको झगडा हुन पुग्छ । ठेकेदार सहित चारजना मिलेर बुधुलाई हातखुट्टा बाँधेर निर्घात रुपमा कुटपिट गर्छन् । बुधु बेहोस हुन्छ ।

यतिबेला बुधुको घटनाले सबैलाई मर्मत तुल्याएको छ । बुधु एक मजदुर मात्र थिएन । तराई मधेसका एउटा सिमान्त परिवारमा जन्मे हुर्केका मानिस पनि थिए । जसको इतिहास नै आदिम कालदेखि मजदुरी जीवनबाट ओतप्रोत थिए । जो एक दिन मजदुरी गर्न नपाउँदा परिवार नै भोकमा डुब्थ्यो । बुधु र बुधुको परिवार भोकभोकै बस्नुपर्ने अवस्थाको भुतभोगी थिए । त्यसैले उनी आफ्नो मजदुरीलाई धेरै माया गर्थे । मायासँगै आफ्नो मजदुरी र मजदुरीसँगै आफ्नो जीवनलाई बचाएका थिए । तर, आखिर त्यही मजदुरीको कारण उसको ठेकेदारले ज्यान लियो ।

मुलुकमा दोस्रो चरणको कोरोना कहरको सुरुवात भएको छ । यस्तैबेला अन्तर्राष्ट्रिय मजदुर दिवसकै दिन पर्यो । सोही दिन यसरी एउटा अथक मजदुरको अवसान भयो । कारण जेसुकै होस्, यो पेटकै खातिर संसारमा मान्छे अनेक कर्म गर्छन् । सोही कर्म मध्ये एक कर्मको साक्षी बुधु सदा थिए । तर, आज बुधुसँगै उसको कर्मको पनि अवसान भएको छ । यो भन्दा दुर्भाग्यको विषय के हुन सक्छ रु बुधु सदाको मृत्यु एक उदाहरण मात्र हो । दिनमा यस्ता कैयन मजदुरहरूले अनाहकमा भोकभोकै ज्यान गुमाई रहेका हुन्छन् । उनका परिवारजन भोकले छटपटाई रहेका हुन्छन् । जसले आफ्नो कडा मेहनतबाट देश र आफ्नो परिवार पालेको हुन्छ । ती वर्ग नै यसरी भोकभोकै मृत्युवर्ण गर्नुपर्दाको पीडा कति होलान् । एउटा मजदुरले आफ्नो राज्य कर्म निर्वाह गरिरहँदा राज्यले पनि आफ्नो कर्म र दायित्वबाट किन पन्छि हटिरहेका छन् । यो विषय कुन शासक र सरकारले बुझ्ने हो । अनि कुन राजनीतिक दलले अनुसरण गर्ने हो ?

पहिलो चरणको कोरोना महामारीमा जसरी मुलुक दलित हत्याको हटस्पट बन्यो, त्यसरी नै यतिबेला दोस्रो चरणको कोरोना महामारीको सुरुवातमै फेरि दलित मजदुरको हत्याको सुरुवात भएको छ । यो सबैभन्दा दुखद दिनको सुरुवात भएको छ । अहिले पनि एउटा मान्छे अर्को मान्छेलाई मान्छे भएर बाँच्ने दिने स्थिति समाजमा छैन् । यसरी दुई वर्गीय र दुई ध्रुवीय रुपमा बाँडेको समाजलाई कसरी समतामूलक समाजको रुपमा फेर्ने हो भने कुरा यतिबेला यसखाले घटनाहरुले चुनौती थपिरहेका छन् । कोभिड १९ मा मजदुर कोरोनाले भन्दा भोकले ज्यान गुमाई रहेका छन् । अनि दिनदहाडै पशुझै मारिरहेका छन् । यो समाज कस्तो समाज हो रु यो कसको समाज हो रु जहाँ मानव सम्बेदना छैन् । इतिहास साक्षी छ, मजदुर वर्ग थुप्रै रोग, भोक र महामारी पचाउने वर्ग हो । चाहे त्यो अभावले हो वा मजबुरीले होस् । तर, मजदुर वर्गको जीवनमा ठूलो चुनौती आदिमकालदेखि नै छ ।

मानव समाजको उत्पत्ति कालदेखि श्रमिक र श्रम बीच नंग र मासुको सम्बन्ध छ । जसरी नंग मासु एक अर्का बिना बाँच्न सक्दैन । अर्थात् कल्पना गर्न सक्दैन त्यसरी नै श्रम र मानव जीवन एक अर्का बिना बाच्न सक्दैन, कल्पना गर्न सक्दैन । तर, अहिलेसम्म यो मानवसमाज यहाँसम्म आइपुग्दा त्यो सम्बन्धको बोध कति प्रतिशतले गरेकाछन् ? प्रश्न र परिस्थिति यहा आएर गम्भीर हुन पुगेको छ । जहाँ मान्छेको जीवन अडेको छ, त्यो कुराको बोध किन मनुष्यले स्वयं गर्न सकिरहेको छैन् ? यसरी बुधुहरु कहिलेसम्म भोककै कारण प्रताडित भएर मारिनुपर्ने हो ? हामी मानवले एउटा मानवको कुरा बुझ्नु पर्छ कि पर्दैन ? के बुधु सदाको परिवारले न्याय पाउँला ? यसरी थप बुधुहरुको हत्याको अन्त्य होला ? यसको जिम्मेवारी कसले लिने ?

यो समाजमा मान्छे कति निर्दयी छन् कि आफ्नो स्वार्थको खातिर अरुको सामूहिक स्वार्थको समेत निर्मम तरिकाले हत्या गर्छन् । र, आफ्नो जीवनसँग खुशी साट्छन् । अरुको जीवनलाई विनाश पार्छ । समाजमा जडा गाडेर बसेका पुरातन धर्म, संस्कार र संस्कृत मानव समाजको विकास र सम्मानको यति ठूलो बाधक शक्तिको रुपमा खडा छन् कि यसलाई परिवर्तन गर्न कति पुस्ता लाग्छ त्यो अनुमान समेत लगाउन गार्‍हो छ । यसर्थ हामी सबै भुईं सतहका मान्छे सतर्क र सचेत हुनैपर्छ । र, यसखाले मानव अपराधका घटनाहरूको निशेध गर्नैपर्छ । किनभने युग बदलिएको छ । समय र परिस्थिति फेरिएको छ । हामी पनि फेरिनुपर्छ । हामीसँगै समाजलाई पनि फेरिनुपर्छ । बुधुहरुको सपनाहरु जोगाउनुपर्छ । किनभने बुधु अब एउटा समाजको विचार हुन पुगेको छ ।

प्रकाशित : 4 May 2021 1:12 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !