समाजवादमा ‘दलित’ हुन्छ कि ‘शिल्पी’ ?


  • राजेश विद्रोही

नेपालको कूल जनसंख्यामा १३.६३५ प्रतिशत संख्या दलित समुदायको रहेको छ । मुलुकमा अहिले पहाडी, मधेसी र नेवाः समुदायभित्र गरी ३ प्रकारका दलित समुदाय छन् । कतिय दलित जातिहरु पहाड मधेस दुबैतिर छरिएका छन् । पहाडमा भेटिने कामी, विश्वकर्मा, लोहार वा सुनार तराई मधेसतिर पनि भेटिन्छन् । नेपालमा २६ जातिका दलित समुदाय अनुसूचिकृत छन् । तर यसलाई राम्रोसँग केलाए एउटै जाति २६ भन्दाबढी नाम थर कायम हुन पुग्छन् । कामी, सुनार, लोहार, दमाई, ढोली, सार्की, गाइने, वादी, पोडे, च्यामे, धोबी, कोरी, तत्मा, दुसाद, मोची, पासी, डोम, चमार, मुसहर, बाँदर, टमाटा, खत्वे, चिडिमार, मेहत्तर, हल्कोर, पत्थरकट्टा, कुशवडिया, धन्कार, नट, खटिक, सर्व्रिया, धनकार आदि सबै दलित समुदायभित्रकै थर हुन् ।

नेपालमा ‘शिल्पी समुदाय’ भन्ने शब्द खासै चर्चामा नभए पनि पछिल्लो कालखण्डमा जबर्जस्त यसलाई बहसमा ल्याइएको छ । र, पछिल्ला दिनमा बहस बाक्लिदै गएको छ । खासगरी अहिले नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टी एकीकृत भई बनेको समाजवादी पार्टीमा यसको बहस अलि चर्को रुपमा देखा परेको छ । शिल्पी शब्द प्रयोग गर्दै आएको समाजवादी फोरम र दलित शब्द प्रयोग गर्दै आएको नयाँ शक्तिभित्र अब कुन शब्द प्रयोग गर्ने भन्ने बहस छ । साथै, पूर्व एमालेलगायतका पार्टीहरुले पनि दलित शब्दको सट्टा अर्कै शब्द प्रयोग गर्नुपर्ने विचार अघि सार्दै आएको थियो । जे होस् अहिले दलित कि शिल्पी भन्ने विषय बहसमा छ ।

इतिहासमा पटकपटक दलित समुदाय यो वा त्यो नाममा अपमानित, अपहेलित र उपेक्षित हुँदै आएका छन् । लोकतन्त्र प्राप्ति पश्चात् पनि राजनीतिक बजारमा फेरि विगतमाझैं दलित समुदायलाई अपमानित हुनेगरी नयाँ शब्दको खेती हुँदैछ । त्यसमा पनि हरेक हिसाबले युगौंदेखि विभेद र उत्पीडनमा पारिएका उहि दलित समुदायमाथि । तर, त्यो खेती कति जायज र ऐतिहासिक छ – त्यो बुझ्न जरुरी छ । आजको युगसम्म आइपुग्दा दलित एउटा संघर्ष र बलिदानको साझा नाम वा परिचय बन्न पुगेको छ । तर, यसअघि दलितलाई अपमान, अपहेलित र अछुत तथा दासको रुपमा चिनाउने खेल भयो । अहिले पनि त्यो क्रममा कमी देखिएको छैन । अप्रत्यक्ष रुपमा झन् ठूलो विभेदको शिकारमा छन् दलितहरू । तर, आज युग धेरथोर भए पनि फेरिएको छ । तर, फेरिने नाममा आफ्नो इतिहासमाथि नै कुठाराघात गर्नु धोका र गद्दारी हो । त्यो कुनै परिवर्तनको नाम होइन । जहाँबाट इतिहास बिग्रेको छ, त्यहाँबाट शासकहरुले त्यसको जिम्मा लिनुपर्छ र नयाँ शीराबाट इतिहास सच्याउन जरुरी छ ।

यहाँ पंक्तिकारले भन्न खोजेको विषय के हो भने हिजो जसरी पेसाको आधारमा जातीय नामाकरण गरियो र दलित समुदायसँग जुन अमानवीय ब्यवहार भयो, त्यो दुःखद् नै थियो । अहिले पनि त्यसको छाँया बाँकी नै छ । तर, आज दलितमाथि नयाँ ढंगको जातीय पहिचान र विभेद कायम गर्न केही राजनीतिक दल र ब्यक्ति, केही पाखण्डी बौद्धिक वर्ग र दलितको नाम भजाएर वर्ग फेर्न पुगेका केही बाहुनवादी प्रवृत्तिका दलितहरु दलितलाई नै सखाप गरी शिल्पी नामाकरण गर्न लागिपरेका छन् । उनीहरु भन्छन्– दलित आयातित र अपमानित शब्द हो । पछि लादिएका शब्द हुन् । जुन शब्द नेपालको संविधानमा मात्र छ । भारत लगायत अरु देशको संविधानमा यसरी अपमानित हुनेगरी दलित शब्द राखिएको र परिभाषित गरिएको छैन । शिल्पी हाम्रो इतिहास हो, सभ्यता हो । जसलाई शासकहरुले ओझेलमा पारे र नयाँ नयाँ शब्दहरू राखेर अपमानित गर्दै आए । जब कि तत्कालीन युगका प्राविधिक र वैज्ञानिक तथा संचारकर्मी आदिको रुपमा काम गर्थे दलित समुदाय ।

यसरी उनीहरुले दलित शब्दको अपव्याख्या गर्दै शिल्पी शब्दलाई बढावा दिइरहेका छन् । अर्कोतिर दलित शब्दका पक्षधरहरुको नजरमा दलित शब्द इतिहास हो । उनीहरु दलित शब्द पछि आए पनि यसलाई संघर्ष र बलिदानको साझा परिणाम र पहिचानका रुपमा लिन्छन् । र, भन्छन्– दलित शब्द पछि आएको शब्द हो भने त्यतिबेला शिल्पी पक्षधरहरु कानमा तेल हालेर कहाँ सुतिरहेका थिए ? र, आफ्नो दाबी गरेर शिल्पी पहिचानलाई दलित पहिचान र इतिहासको ठाउँमा उभ्याउन किन सकेनन् ? आज विशेष जाति र पहिचान ओगटीसकेको दलित समुदायलाई शिल्पी शब्दले किन अपमानित गरिंदैछ ? शिल्पी अर्थ त खास सीप भएको समुदाय भन्ने बुझिन्छ । के त्यसले दलित समुदायलाई मात्र बुझाउँछ रु शिल्पी शब्द भनेको आजको युगमा जो जुन क्षेत्रमा सीप तथा क्षमता राख्दछन् सबैलाई शिल्पी भन्न सकिन्छ । यसर्थ, शब्द फेर्दैमा दलितहरुको अवस्था फेरिने होइन ।

इतिहासलाई पल्टाउने हो भने दलितलाई सम्बोधन गर्ने पुराना शब्दहरू कागजको पानाहरुमा थुप्रै भेटिन्छन् । र, अहिले मुलुकको पर्दाअगाडि देखिएका अधिकार उन्मुख समुदायभन्दा पनि थुप्रै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका इतिहासहरु भेटिन सक्छन् र उनीहरु पनि यो बाटो अंगालेर मुलुकलाई अधिकारको नाममा धुज्जा– धुज्जा पार्न सक्छन् । के त्यो सम्भव छ ? हुन त संसारमा असम्भव भने केहि पनि छैन– गर्नेहरुका लागि । तथापि त्यो कतिको उचित, व्यवहारिक र वैज्ञानिक हुन्छ भन्ने हो ।

आज पनि मुलुकको सबैभन्दा मुख्य समस्या भनेको जातीय, आर्थिक, सामाजिक विभेद तथा छुवाछूत नै हो । जसबाट उन्मुक्ति चाहन्छन् दलित समुदाय । केही एनजिओवादीहरु, डलर डकारेका बुद्धिजीवीहरु र दलितको नाममा सिंहदरबार छिरेर वर्ग फेरिएकाहरु ‘दलित’ शब्दबाट आतंकित बन्न थालेका छन् । र, आफ्नो दलित पृष्ठभूमि, इतिहासबाट आफ्नो सम्बन्ध विच्छेद् गर्न नयाँ शब्दको खोजितिर लागेका छन् । अब उनीहरुलाई नयाँ पहिचान चाहिएको छ । उनीहरु दलितको पहिचान छोप्नलाई ‘शिल्पी’ शब्दको प्रयोग गर्न थालेका छन् । यो भनेको नेपालको राजनीतिमा संघर्ष र बलिदानमा गौरवशाली इतिहास कायम गरेको दलित समुदायको इतिहासमाथि गर्न खोजिएको घोर अपमान हो र वर्षौदेखि उपेक्षित र उत्पीडित दलित समुदायमाथिको धोका र गद्दारी हो । यो आम दलित समुदायलाई कदापि स्वीकार्य हुन सक्दैन । वर्ग फेरिएका मुठ्ठिभर दलितको नामका कलंकहरुले आफ्नो थर फेरे हुन्छ । त्यो अधिकार राज्य र संविधानले दिएको छ । तर समग्र दलित आन्दोलनमाथि गद्दारी गर्ने र यो आन्दोलनलाई अलगावमा पार्ने अधिकार उनीहरुलाई छैन ।

नेपालको राजनीतिक इतिहासमा दलित समुदायले महत्वपूर्ण त्याग, तपस्या र बलिदान गरेको छ । इतिहासका हरेक कालखण्डमा दलित समुदायले गरेको त्याग, तपस्या र बलिदानको बलमा केही दलित अगुवाहरु राज्य सञ्चालनको महत्वपूर्ण ठाउँमा पुगे । सांसद, मन्त्री पनि भए । केही टाढाबाटाहरुले राज्यस्रोतको उपभोग गर्न पनि भ्याए । विदेशी आइएनजिओ र एनजिओको डलर खाएर डकार्नेहरुको पनि वर्ग फेरिन पुग्यो । वर्ग फेरिएपछि सोच, चिन्तन, विचार, तर्क र दर्शन पनि आफ्नो वर्ग अनुकूल फेरिनु नौलो कुरा होइन । यो समाज विज्ञानकै नियम हो । तर आम दलित समुदायको स्थिति हेर्ने हो भने अहिले पनि उनीहरुको अवस्था उपेक्षित, उत्पीडित र शोषित तथा अपहेलित नै छ । सिंगो दलित समुदायको मुक्तिका सपथ खाएर प्रतिनिधित्व गर्दै राजनीतिक नेतृत्वको रुपमा स्थापित हुन पुगेका उनीहरु आफूले आफ्नो वर्ग फेरे तथा समुदायको अवस्था फेर्न सकेनन् । त्यसका लागि उनीहरुले प्रयत्न गरेको पनि देखिएन । उनीहरु सत्तासिन तथा सम्भ्रान्त वर्गकै दलाली र चाकडीमा मग्न रहन पुगे । ‘खोला त-यो लौरो बिर्सियो’ भने जस्तै अहिले उनीहरुले त्यो समुदायलाई बिर्सेका मात्रै छैनन्, उनीहरुका लागि ‘दलित समुदाय र दलित’ शब्द नै घाँडो हुन पुगेको छ । यसो भनौं उनीहरु पूरै व्यापारी भएका छन् । नाफा÷फाइदाका लागि उनीहरुमा आफूलाई जन्म दिने आमालाई पनि बेच्न तयार हुने मानसिकताको भूत सवार भएको छ । यो हद दर्जाको अमानवीय सोचको दृष्टान्त पनि हो । यसर्थ, राजनीतिक व्यापारीहरुलाई दलित समुदायको गौरवशाली इतिहासमाथि प्रश्न उठाउने कुनै अधिकार छैन ।

यसर्थ, समाजवाद उन्मुख वर्तमान संविधानमा जुन दलित समुदाय भन्ने उल्लेख छ । र, विगतमा भएका ययुद्ध तथा आन्दोलन र बलिदानबाट जे जति दलित समुदायले अधिकार प्राप्त गरेका छन् । ती अधिकारहरुको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि आम उत्पीडित दलित समुदायलाई संगठित गरी अगाडि बढ्नु आजको आवश्यकता हो । दलित कि शिल्पी शब्दको बहसमा अल्झिने बेला यो होइन । निकै लामो समयदेखि उत्पीडित, उपेक्षित र छुवाछुतको समेत शिकार हुँदै आएको समुदाय भएकोले यो समुुदायको वास्तविक मुक्तिका निम्ति राज्यले यो समुदायको लागि विशेष आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक अधिकारको ग्यारेन्टी गर्नु पर्दछ । त्यसका लागि फेरि पनि सशक्त आन्दोलनको विकास नगरी सम्भव छैन । तसर्थ, इतिहासको यो कालखण्डमा सबै उत्पीडित दलित समुदाय एक भएर सशक्त आन्दोलनको आँधीबेहरी सृष्टि गरौं ।

(लेखक समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन )

प्रकाशित : 21 November 2019 2:24 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !