
एजेन्सी : लामो समयको प्रतीक्षापछि अन्ततः अमेरिकी राष्ट्रपतिको नतिजा आएको छ । डेमोक्र्याट नेता जो बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका हुन् ।
७८ वर्षका जो बाइडेन डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार थिए । उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन् ।
अमेरिकामा ३ नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडेनले २७९ इलेक्टोरल भोट ल्याएका छन् । उनका प्रतिस्पर्धी डोनाल्ड ट्रम्पको २१४ इलेक्टोरल भोट छ । अमेरिकामा राष्ट्रपति बन्नका लागि २७० इलेक्टोरल भोटको आवश्यकता पर्छ ।
डेमोक्रेटिक पार्टीबाट बाराक ओबामा राष्ट्रपति हुँदा बाइडेन उपराष्ट्रपति थिए । बाइडेनले ट्रम्पलाई पराजित गर्दै राष्ट्रपतिमा बाजी मारेका हुन् । यो नतिजालाई ट्रम्पले भने स्वीकार गरेका छैनन् ।
२००९ देखि २०१७ सम्म उपराष्ट्रपति
बाइडेन सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपतिको जिम्मेवारीमा थिए । बाइडेनसँग राजनीतिको लामो अनुभव छ भने उनी विदेशनीतिका ज्ञाता हुन् । उनलाई प्रखर वक्ता राजनीतिज्ञका रूपमासमेत चिनिन्छ । उनी स्वभावैले सामान्य नागरिकसँग घुलमिल हुन सक्ने र सहज व्यक्ति भएको बताइएको छ ।
७८ वर्षमा राष्ट्रपति चुनिएका बाइडेनले राजनीतिमा पहिलो पाइला चाल्दा उनलाई मतदान दिएर जिताउने कयौं मतदाता जन्मिएका थिएनन् । उनलाई मतदान गरेर राष्ट्रपति निर्वाचित गर्ने उनको पुस्ता कमैमात्र होलान् ।

पहिलो पटक सिनेटको सदस्यको रुपमा उनी १९७३ मा वाशिङ्टन पुगेका थिए । आजभन्दा ४७ वर्षअघि वासिङ्टनसँग जोडिएको नाता आज अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा विकास भएको छ ।
उनको पहिलो राष्ट्रपतीय प्रचार अभियान ३३ वर्षअघि सन् १९८७ मा भएको थियो । बाइडेन योजनाबद्ध रूपमा तौलिएर बोल्ने राजनीतिज्ञहरूको भिडमा एक वास्तविक मानिसजस्तो देखिन्छन् ।
बाल्यकालमा भकभकाउने समस्या स्मरणमा रहेकाले आफूले पढेर बोल्नुका साटो मनका कुरा बोल्न रुचाउने उनले बताएका छन् ।
सात पटक सिनेटर
बाइडेनले अमेरिकी सिनेटका चुनाव सात पटक जितेका छन् । उनी सधैभरी कामदार तथा मजदुर वर्गलाई आफ्नो स्वतःस्फूर्त भाषणमार्फत् तरङ्गित पारिदिन सक्छन् ।
बाइडेनसँग वाशिङ्टनको धेरै लामो अनुभव छ । सिनेटमा तीन दशकभन्दा धेरै अनि ओबामाको उपराष्ट्रपतिको रूपमा आठ वर्ष । करिब ५० वर्षदेखि उनी अमेरिकाको उच्चस्तरको राजनीतिमा संलग्न छन् ।
२०२० मा मात्र होइन बाइडेन सन् १९८७ मा पहिलो पटक राष्ट्रपति पदका निम्ति आकाङ्क्षी बनेका थिए । अमेरिकाका हरेक महत्त्वपूर्ण घटनाक्रममा बाइडेन संलग्न छन् या त त्यसबारे केही टिप्पणी गरेका छन् ।
सन् १९७० मा सार्वजनिक विद्यालयहरूमा जातीय एकता कायम गराउन बालबालिकालाई अन्य इलाकामा बसबाट पुर्याउन भनी गरिएको निर्णयको विरोध गरिरहेका दक्षिणी क्षेत्रका समूहको समर्थनमा बाइडेन उभिएका थिए ।

उनी विगतमा सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्ष थिए । आफ्नो ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतालाई भेटेको उनले दाबी गर्ने गर्छन् ।
सन् १९९१ मा उनले पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा चाहिँ इराक अतिक्रमणको समर्थन गरेका थिए ।
अलि सतर्क रहन रुचाउने बाइडेनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएका थिए । अब उनको खास परीक्षा अमेरिकी राष्ट्रपतिको रुपमा हुँदैछ ।
तपाईको प्रतिक्रिया