काठमाडौं, ८ भदौं : चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेसहित तीन जनाविरुद्ध सरकारी वकिलको कार्यालय, चितवनले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएपछि जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । आइतबार दिउँसो यी तीनै जनाविरुद्ध मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जानकारी दिएको छ ।
अब केहीबेरमै अभियुक्तहरुलाई पूर्पक्षका लागि थुनामै राखेर मुद्दा अगाडि बढाउने वा तारेख÷धरौटीमा छोड्ने भन्ने बारेको थुनछेक बहस सुरु हुनेछ ।
पत्रकार सालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको थियो । सालिकरामले आत्महत्या गर्नु अघि रेकर्ड गरेको भनिएको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको उल्लेख गरेका थिए ।