जनकपुरधाम, १३ भदौं । प्रदेश २ का सांसदले बिरामी हुँदा सरकारले कुनै किसिमको ध्यान नदिएको गुनासो गरेका छन् । सांसदको शपथ ग्रहण गरे लगत्तै औषधि उपचारको जिम्मा सरकारको हुने गरेको बताउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक सांसदले प्रदेश २ सरकारले यसतर्फ कुनै चासो नदिएको बताएका छन् ।
आफू चिनी रोगबाट पीडित भएको भन्दै सिरहा क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित भएका सांसद रामकुमार यादवले अहिले १० किसिमको औषधि सेवन गरेर बाँचिरहेको बताएका छन् । ‘दैनिक १० किसिमको औषधि खानुपरेको अवस्था छ’ उपचारकै निम्ति काठमाडौंमा रहेका सांसद यादवले टेलिफोनमा भने, “यो कुरा मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई पनि थाहा छ । तर, कसैले कुनै चासो लिएको छैन् ।”
सांसद यादव आफू काठमाडौंको टिचिङ्ग हस्पिटलमा उपचारत रहेको बताए । सांसद यादवले अहिले प्रत्येक महिना रु २० हजार ६ सय मूल्यको औषधि खानुपरेको जनाए । प्रदेश सरकारलाई गत चैतसम्म गरिएको औषधि उपचारको बिल र चिकित्सकको प्रिप्केशन उपलब्ध गराएपनि कुनै सहयोग नगरेको उनले बताए ।
आफू कुनै विदेशमा गएर उपचार गराउने अभिलाषा नराखेको बताउँदै उनले स्वदेशमै उपचार गराउँदा पनि प्रदेश सरकारले ध्यान नदिनु बिडम्बना भएको बताए । प्रदेश सांसदहरुलाई औषधि उपचार खर्च उपलब्ध गराउने कानून बाँझिएको भएपनि पछिल्लो समयमा यसलाई सुधार गरिएको सांसद यादवले बताए ।
‘सबैतिर सांसदलाई उपचार खर्च दिने चलन छ’ उनले भने, “प्रदेश २ मा पनि लागू गर्नुप¥यो ।”