जनकपुरधाम, १४ भदौं । जनकपुरधामको जानकी चोकमा प्रहरीद्वारा दुई जना कुटिएको भनिएका घट्नाको छानबिनका लागि समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाले शुक्रबार छानबिन समिति बनाएको हो ।
बिहीबार दिउँसो भएको उक्त घट्नालाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । उक्त समितिमा एक जना प्रहरी निरीक्षक, एक जना प्रहरी नायव निरीक्षक, एक जना हबल्दार र एक जना जवानलाई सदस्यमा राखिएको धनुषा प्रहरीले जनाएको छ ।
धनुषा प्रहरीका प्रबक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीले सामाजिक संजालमा भनिए झै कुनै प्रहरीले कोही कसैसँग पैसा माग गरेको कुरा गलत, भ्रामक र कपोलकल्पित भएको बताएका छन् । उनले ठेलाबाला व्यापारी तथा स्थानीय बासिन्दालाई डियुटीकै क्रममा भएपनि दुव्र्यबहार गर्ने पर्यटक प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरुको पहिचान भइसकेको र उनीहरुलाई बिभागीय कारबाहीको प्रकृया सुरु गरिसकिएको बताए । छानबिनपछि दोषी देखिनेलाई कसूर अनुसारको सजाय दिइने प्रहरीले जनाएको छ ।
जानकी मन्दिर परिसरमा रहेका भित्री पसल टहरालाई स्थायी रुपमा खाली गराई अन्यन्त्र व्यवस्थित गर्न मन्दिर व्यवस्थापन समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पर्यटन प्रहरी तथा नगरपालिका समेतकोनिर्णय अनुसार जानकी मन्दिर परिसर तथा प्रवेशद्धारमा अव्यवस्थित रुपमा पार्किङ गरी सरसामान बेच्न राखिएको ठेलालाई व्यवस्थित गर्न जानकी मन्दिरमा खटिएका पर्यटक प्रहरी र ठेलाबालाहरु बिच विवाद भएको धनुषा प्रहरीले जनाएको छ ।
यो विवादलाई भिडियो बनाई प्रहरीले पैसा माग्दा नदिएकोले कुटपिट गरेको भनी सामाजिक सञ्जालमा समेत राखेको बिषयलाई लिएर पर्यटक प्रहरी तथा स्थानीय युवाबीच भएको विवादको क्रममा प्रहरी र स्थानीय युवाहरुबीच सामान्य वादबिबाद तथा धकेला धकेल मात्र भएको प्रहरीको भनाई छ ।
यद्यपी नरीवल बेच्ने रोशन चौधरीले आफूसँग रकम मागेको र नदिएपछि कुटपिट गरेको बताएका छन् । उनले प्रहरी जवान प्रेमशंकर यादवले कुटपिट बताएका छन् । बालकलाई कुट्दै गरेको भिडियो खिंच्ने स्थानीय सुशिल कर्णलाई समेत प्रहरीले कुटेका थिए । यसपछि स्थानीयहरुले बिहीबार टायर बालेर प्रदर्शन गरेका थिए । जानकी चोकमा टायर बाल्दै सडक समेत अवरुद्व गर्दा केहि बेर सबारीसाधन अवरुद्व भएको थियो । व्याप्क बिरोध भएपछि बिहीबार साँझ प्रहरीले कुटपिट गर्नेहरुलाई कार्वाही गर्ने जनाएको थियो ।
यसैबीच आफूहरुलाई कुटपिट गर्ने प्रहरीलाई कार्वाहीको माग गर्दै कर्ण र चौधरीले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । आफूहरुलाई बिना कारण कुटपिट गर्ने प्रहरीलाई कार्वाही गराई आफूहरुलाई न्याय दिलाइदिन उनीहरुले दिएको उजुरीमा माग गरेका छन् । प्रहरीले कुट्दै गरेको भिडियो खिंच्ने युवा अभियन्ता सुशील कर्ण र नरिवल बेच्ने व्यापारी रोशन चौधरीले संयुक्त रुपमा उजुरी दर्ता गराएका हुन् ।