सर्लाही, २० भदौं । साहुकार श्याम परदेशी भनेर चिनिने श्यामकृष्ण साह कलवारको ऋणको फन्दामा परेका कारिल धामी चौधरी र राजकिशोर महतोले जेलबाटै सहयोगको याचना गरेका छन् ।
दुवै अहिले सुनसरीको झुम्कास्थित कारागारमा सजाय भुक्तान गरिरहेका छन् । परदेशीले गत १० साउनमा धामी र महतोलाई १८ असारमा मुद्दा हालेर जेल पठाएका हुन् । उनले अहिलेसम्म दुई सय ९९ जना गरिब विपन्न परिवारमाथि जालसाजी गरेर मुद्दा हालेका छन् ।
आफूहरूले लिएको सबै ऋण चुक्ता गर्दासमेत तेब्बरभन्दा धेरैको कागज बनाई जेलमा फसाइएको उनीहरूको भनाइ छ । चौधरीले आफूले परदेशीबाट पटक–पटक गरी दुई लाख ५० हजार रुपैयाँ ऋण लिए पनि १२ लाखको कागज बनाएर जेलमा फसाएको गुनासो गरे । आफूले लिएकोभन्दा धेरै रकम चुक्ता गर्दा पनि उल्टै मुद्दा लगाएर फसाएको उनले बताए ।
‘मैले धेरै पढेलेखेको छैन । सामान्य पोल्ट्री फर्म चलाउन भनी परदेशीसँग सुरुमा एक लाख, दोस्रोपटक पनि एक लाख र अन्तिममा ५० हजार रुपैयाँ लिएँ,’ धामीले भने, ‘पटक–पटक गरी अढाई लाखभन्दा धेरै रकम तिरिसकेँ ।
अहिले उल्टै परदेशीकी श्रीमती र छोरीको नाममा १२ लाखको कागज बनाएर जेल हालियो ।’ जेल पर्दा सुरुका दिन धेरै चिन्ता लाग्ने गरे पनि पछिल्लो समय पत्रपत्रिकाका समाचारले छुट्ने आशा जगाएको धामीले बताए ।
झुम्का कारागारमै कैद भुक्तान गर्दै आएका राजकिशोर महतोले आफूले लिएकोभन्दा सातगुणा बढीको ऋणको कागज बनाएर आफूलाई फसाएको बताए । उनले पाँच लाख ऋणको साँवाब्याज नौ लाख १३ हजार रूपैयाँ बुझाउँदा पनि उल्टै ३५ लाखको कागज बनाई फसाएको गुनासो गरे ।
सुरुमा साथीकी बहिनीको बिहेका लागि परदेशीसँग एक लाख ऋण काढेर ल्याएपछि ऋणको चंगुलमा फस्न थालेपछि जीवनभर उम्किन नसक्ने गरी फसेको उनको भनाइ छ । ‘परदेशीको सालो र म एउटै कक्षामा पढ्ने भएकाले मैले उनलाई भिनाजु भन्न थालेको थिएँ,’ महतोले भने, ‘मेरो नजिकैको साथीले आफ्नी बहिनीको विवाहका लागि ऋण चाहियो भनेपछि परदेशी भिनाजुसँग एक लाख ऋण काढेर दिएँ ।’
साथीले जग्गा बेचेर दिने भने पनि पछि नसकेपछि एकैचोटि तीन लाख ऋण पुगेको महतोले बताए । ‘एक लाख ऋणको तीन लाख साँवा भयो । साँवा तिर्न सक्दैन भनेर माया गरे जस्तो गरी परदेशीले चार लाख रुपैयाँ ऋण दियो । तीन लाख ऋणको अढाई लाख ब्याज काटेर एक लाख ५० हजार रुपैयाँ दियो,’ उनले भने, ‘मविरुद्ध वारेन्ट जारी हुँदासम्म ऋण तिर्दैै थिएँ, ३५ लाखको कागज बनाई जेल हालियो ।’
जीवनमा कहिल्यै गल्ती नगरे पनि आफूले नसोचेको अपराध भोग्दै आएको महतोले भनाइ छ । ‘मैले परदेशीलाई भिनाजु र उनकी श्रीमतीलाई दिदी मानेर हरेक रक्षाबन्धनमा राखी बाँधेँ,’ उनले भने, ‘तर उनीहरूले मलाई जेल हाल्लान् भन्ने कहिल्यै विश्वास गरेको थिइनँ । आज यस्तो नियति भोग्दै छु ।’
विश्वास गरेर ऋण लिएँ, जीवनभर फसें
– राजकिशोर महतो
मेरो घर सर्लाही पर्सा हो । ललितपुर टीकाथलीमा बस्छु । काठमाडौंमा स्टेसनरी सामानको सप्लाई काम गर्छु । मेरा दुई छोरा, एक छोरी छन् । जेठा छोराले एसइई पास गर्यो । कान्छो छोरा १० कक्षामा पढ्दै छ । छोरी ८ कक्षामा पढ्दै छिन् । मेरो बुबा सरकारी डाक्टर हुनुहुन्थ्यो । दुई वर्षअघि श्रीमती बितिन् ।
मेरो साथीले बहिनीको विवाह गर्नुपर्ने भयो भनेपछि परदेशीसँग २०६८ सालमा एक लाख रुपैयाँ ऋण लिए । समयमा ब्याज तिर्न नसकेपछि मूलधन तीन लाख भयो । परदेशीले त्यसको १५ लाखको तमसुक बनायो । पैसा तिर्न नसक्ने भएपछि २०७० सालमा चार लाख ऋण मागेँ । उसले चार लाख ऋण दिँदा पहिलेकोे तीन लाखको ब्याज भन्दै दुई लाख ५० हजार रुपैयाँ काटेर दियो । मैले नौ लाख १३ हजार बुझाएँ ।
काठमाडौं आएको वेला खाना, रक्सी, मासु खान्थ्यो । आफ्नै भिनाजुजस्तो मानेर खर्च गर्थेँ । गत १८ असारमा म काठमाडांैबाट पक्राउ परें । १९ गते जिल्ला अदालत सर्लाही मलंगवा ल्याइयो । त्यसै दिन मलाई कारागार चलान गरिसकिएको थियो ।
समय–समयमा कारगारमा भेट्न पनि आउँथ्यो । ‘पैसा देऊ, जेलबाट छुट्छौ’ भन्थ्यो । मलाई ‘थुप्रै कागज गरेको छ’ भन्थ्यो । मैले ३५ लाख रुपैयाँ ऋण छ भन्नुहुन्छ, त्यति धेरै पैसा कहाँबाट दिने भन्थेँ । ‘अहिले कागजमा एक वर्ष थुन्ने लेखिएको छ, अर्को कागज छ, त्यो मुद्दा हालेपछि चार वर्ष जेल बस्नुपर्छ’ भन्दै छ ।
पहिले पनि बाइक चोरीको आरोपमा थुन्न खोजियो
– कारिल धामी चौधरी
मेरो घर सर्लाही ईश्वरपुर नगरपालिका–१५ हो । पोल्ट्री फर्म सञ्चालन गर्न मैले परदेशीसँग दुई लाख ५० हजार रुपैयाँ ऋण लिएको थिएँ । पहिलोपटक ०६९ सालमा एक लाख, दोस्रोेपटक पनि एक लाख र अन्तिममा ५० हजार गरी साढे दुई लाख लिएको हुँ ।
विभिन्न पटक गरी अहिलेसम्म अढाई लाखभन्दा धेरै तिरिसकेको छु । पक्राउ पुर्जी काटेपछि पुरानो घर पिपरिया बोलाइयो । त्यसवेला पनि मैले ७५ हजार रुपैयाँ दिएको थिएँ । तर, तीनजनाको नाममा १२ लाखको कागज बनाइएछ ।
उसले अर्को कागज १० लाखको बनाएको रहेछ । परदेशीको छोरा मेडिकल पढ्न भारत गएको थियो । उतैबाट उसको छोराले सेकेण्ड ह्यान्ड बाइक ल्याएको थियो । त्यो बाइक उसले आफ्नै घरमा थन्क्याएको थियो । मलाई बाइक राम्रो छ भन्दै लग्न फकाउँथ्यो । उसले भनेकै दाममा दुई लाखमा किनेँ ।
उसले ६ महिनापछि छोरो आउँदा बाइक नामसारी गरिदिन्छु भनेको थियो । तर, छोरा एक वर्षपछि आयो । बाइक पास गर्छु, तर ब्याज तिर्नुपर्छ भन्यो । त्यो दुई लाखलाई ब्याज जोडेर पाँच लाख बनाएको थियो । मैले बाइक नलिने निर्णय गरेपछि उसले त्यही बाइक चोरीको केसमा मुद्दा लगायो ।
मलाई बयलवास इलाका प्रहरी कार्यालयका इन्स्पेक्टरले बोलाउनु भयो । परदेशी पनि त्यहीँ थियो । त्यहाँका असई चिनजानका थिए । उनले त्यो बाइक छाडेर जानुस् भनेपछि जेल जानबाट बचेको थिएँ । – नयाँ पत्रिकाबाट