पोखरा, २१ भदौं । पोखरामा सेतो पुतली (शापु)को आतंक बढेको छ । ४४ वर्षअघि पोखराबाट फाट्टफुट्ट रुपमा देखिएको सेतो पुलती अहिले हजारौंको संख्यामा रहेको चिकित्सकहरु बताउँछन् ।पुतलीको कारण अहिले दैनिक जसो ४–५ जना विरामी अस्पतालमा आउने गरेको हिमालय आखाँ अस्पतालकी डा.ईलिया श्रेष्ठ बताउँछिन् । यसलाई हेलचेक्क्राई नगरी बच्न समेत चिकित्सकहरुको सुझाव छ ।
रातको समयमा घरभित्र ट्युवलाइट, विजुली बत्ती, पर्दा, कपडा, झ्यालमा यो पुलती बस्ने गर्दछ । यो पुतलीको झुस आखाँमा पर्यो भने आखाँको ज्योतिसम्म गुम्ने गरेको चिकित्सकहरु बताउँछन् ।यस्तै रातको समयमा सडकका छेउछाउका विजुलीका बत्तीमासमेत यो पुतली बस्ने गर्दछन् । यदी यस्तो देखिएमा पुतलीलाई नछुने र घरभित्र पस्न नदिने चिकित्सकको भनाइ छ ।
यो पुतली एक वर्षको अन्तरालमा प्राय वर्षाको समयमा देखिने गरेको छ । यसका लक्षणहरुमा एक्कासी एउटा आँखा रातो हुनु, चिप्रा नलाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखाको दृष्टिमा कमी आउनु, उपचारमा ढिला भएमा कालो नानीमा सेतो देखिनु रहेका छन् ।रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टाभित्र उपचार हुन नसके आँखाको दृष्टि गुम्न सक्नेसमेत डा। श्रेष्ठ बताउँछिन् ।
गण्डकी प्रदेशमा देखिएको सेतो पुतली प्रकोपबाट हिमालय आँखा अस्पतालमा आएका विरामीमध्ये ३४ जना कास्कीका रहेका छन् ।यो रोगवाट पर्वत, स्याङजा, बाग्लुङवाट दैनिक जसो बिरामी आउने गरेका छन् ।