वीरगन्ज, २१ भदौं । वीरगन्जमा डेंगु रोगी भेटिएका छन् । महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख अरुणकुमार महतोका अनुसार बिहीबार साँझ साढे ४ बजेसम्ममा वीरगन्जका विभिन्न अस्पतालमा गरी ८ रोगी उपचाररत छन् ।
रोगीमध्ये ३ तराई अस्पताल, ३ नेसनल मेडिकल कलेज र २ वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत छन् । रोगीमध्ये केही बाहिरी जिल्लाका रहेको महतोले बताए । महतोले बिरामीको डेंगु परीक्षणका लागि निःशुल्क किट उपलब्ध गराउने, जनचेतनामूलक सन्देश प्रशारण गर्ने तथा डेंगुका लामखुट्टेको उदग्मस्थल नष्ट गर्ने अभियान नै चलाउने तयारी भइरहेको बताए ।
झन्डै एक दशकयता वीरगन्ज महानगरमा बर्सेनी डेंगु रोग देखिन्छ । महानगरका नगवा, भिष्वा, इनर्वा, श्रीपुर क्षेत्र डेंगु रोगले बढी प्रभावित बन्छ । नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहका अनुसार एडिस जातका लामखुट्टेले सार्ने यो रोग लागेपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, चिलाउने, घाटी खसखस गर्ने, आँखा रातो हुने लक्षण देखिन्छ । जमेको सफा पानीमा यो लामखुट्टेको लार्भा हुर्कने गरेको छ ।
काँचका फुटेका बोतल, टायर, गमला, अण्डाको बोक्रामा समेत जमेको पानीमा यो जातको लामखुट्टे हुर्किन्छ । राति सुत्ने र दिउँसो मात्र टोक्ने यो लामखुट्टेले तीब्र रूपमा रोग फैल्याउने काम गर्छ । सफा पानीमा बस्ने कालो रङमा सेता थोप्ला भएका लामखुट्टेको माध्यमबाट सर्ने यो रोग सर्छ । डेंगु रोग एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइले हुने गर्छ । यो लामखुट्टे सहरी क्षेत्रमा पाइन्छ ।
१२ महिना लामखुट्टेको बिगबिगी हुने वीरगन्ज महानगरमा ४ वर्ष यता नाला निर्माणका लागि धेरै सडक खनिएकाले लामखुट्टेको बिगबिगी झनै बढेको छ । त्यस कारण पनि यस वर्ष पनि वर्षैभरि डेंगु देखिन सक्ने अनुमान गरिएको छ ।