जनकपुरधाम, २४ भदौं । नेपाली कांग्रेसले बीपी कोइरालाको १०६ औं जन्मजयन्तीका दिन पारेर मंगलवारदेखि नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु भएको छ । दोस्रो चरणको जागरण अभियानलाई नेपाली कांग्रेसले हिमाल, पहाड, तराई–मधेस (हिपतम) नाम दिएको छ ।
जननायक बीपी कोइरालाको १०६औं जन्मजयन्तीको प्रतीक स्वरूप १०६ बिरूवा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा वृक्षरोपण गरेर दोस्रो चरणको ‘हिपतम’ जागरण अभियानको देशव्यापी रूपमा उद्घाटन गरिएको छ । यसरी एकैदिन ३४ हजार ९८० बिरूवा रोपेर अभियानको प्रथम दिन पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पु¥याईएको छ ।
धनुषाको क्षेत्र नं. १ प्रदेश सभा १ को गणेशमानचारनाथ नगरपालिकाको बिरेन्द्रबजार राष्ट्रिय माध्यमिक विद्यालय बिरेन्द्रबजारमा प्रदेश सभा २ को धनुषाधाम नगरपालिकाको ठाकुर प्रसाद ढुंगाना चिन्तन प्रतिष्ठानको प्रांगनमा वृक्षारोपण गरिएको छ ।
त्यस्तै क्षेत्र नं. २ प्रदेश सभा १ को कमला नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा प्रदेश सभा २ को रामजानकी मा.वि.झिटकोहियामा क्षेत्र नं. ३ प्रदेश सभा १ मा नगराईन नगरपालिकाको विर्तामा प्रदेशसभा २ जनकपुरधाम उपमहानगरपालिकाको महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक प्रतिष्ठान र क्षेत्र नं. ४ को प्रदेशसभा १ मा ठेरा मा.वि. र प्रदेश सभा २ को तुल्सीमा वृक्षारोपण गरिएको जनाईएको छ ।
एक महिने प्रथम चरणपछि दोस्रो चरण पन्ध्र दिने रहेको छ । भदौ २४ गते प्रारम्भ हुने दोस्रो चरण असोज ७ गते समापन हुनेछ ।