जनकपुरधाम, २ असोज । सिरहाको कर्जन्हा नगरपालिकाले ५९ जनप्रतिनिधि र मेयरका चालकलाई सुट हाल्न १०–१० हजार बाँडेको छ । बैंक खातामा निकासा गरिएको रकम जनप्रतिनिधिले अन्तै मासेपछि सुट पाँच महिनादेखि मिर्चैया बजारस्थित सनलाइट टेलरको ह्यांगरमै थन्किएका छन् ।
दसैँसम्म नआए सस्तो दररेटमा बेच्ने भन्दै सञ्चालक विश्वेश्वर मण्डलले सामाजिक सञ्जालमै सुट लिलामीमा चढाएका छन् । उनले तत्कालको मूल्य एउटा सुटको ६ हजार तोकेका छन् । सुट सिलाउन उधारोमा कपडा दिने गुरुशरण साधुशरण वस्त्रालयका मालिक लक्ष्मण साह भने पैसा फस्ने चिन्तामा छन् ।
उनका अनुसार नगरपालिकाले ३६ पुरुष जनप्रतिनिधि र मेयरका चालकका लागि कोट, पाइन्ट र सर्टको कपडा तथा २३ महिला जनप्रतिनिधिका लागि कोटको कपडा उधारोमा लगेको छ । सुटको कपडा डोनियर ब्रान्डको हो । मेयर गंगा पासमानको वचन हार्न नसकेर उधारो दिएको उनले बताए । उधारो रकमबारे भने उनी बोल्न चाहँदैनन् ।
कपडा उधारो लिएका मेयर पासमानले सनलाइट टेलरलाई प्रत्येक सुटको पाँच हजार र महिलाको कोट सिलाएको ३५ सय ज्याला दिने गरी सिलाइको जिम्मा दिएका थिए । तर, सुट तयार गरिएको पाँच महिना बित्दा पनि अधिकांश जनप्रतिनिधि लिन नआएपछि मण्डलले फेसबुकमार्फत लिलामीमा बेच्ने सूचना सार्वजनिक गरेका छन् । पसलको ह्यांगरमा झुन्ड्याइएका कोटमा सम्बन्धित जनप्रतिनिधिको नामसहितको ट्याग लगाइएको छ । दसैंसम्म लिन आएनन् भने बढीभन्दा बढी जति पैसा पाइन्छ त्यतिमा क्रमशः बेच्दै गएर आफ्नो रकम उठाउने मण्डलले बताए ।
मेयरसहित पाँच जनाले लगे, ३५ जनाको सुट अझै सिलाइ सेन्टरमै
पुरुष जनप्रतिनिधिका लागि कोट, पाइन्ट र सर्ट तथा महिला जनप्रतिनिधिका लागि कोट, सारी र ब्लाउज दिने निर्णय गरेर मेयर गंगा पासमानकै अग्रसरतामा गत चैतमा जनप्रतिनिधिको सुटका लागि कपडा खरिद गरिएको थियो । त्यतिवेला रकम भने निकासा नगरेकाले मेयरले नै कपडा पसलमा उधारो मिलाएका थिए । ३९ जनप्रतिनिधि र मेयरका चालकले टेलर्समा पुगेर नापो पनि दिए । २० जनाले अझैसम्म नापो दिएका छैनन् ।
अहिलेसम्म मेयर गंगा पासमान, चालक हरि पासमान, वडा ५ का अध्यक्ष भूषण खाती, वडा ८ का अध्यक्ष प्रकाश अधिकारी र वडा ११ का अध्यक्ष कपिल यादवले मात्रै टेलर्सबाट सुट लगेका छन् । ३५ कोट–पाइन्ट टेलर्समै छन् । वडा ३ का अध्यक्ष कपलेश्वर यादव, वडा ४ का अध्यक्ष टेकबहादुर सिंगार, वडा ९ का अध्यक्ष बहादुर महरा, वडा १० का अध्यक्ष जगदीश साहलगायत ३५ जनाको कोट, पाइन्ट र सर्ट तयारी अवस्थामा छन् ।
सबै जनप्रतिनिधिको पोसाकको रकम भने असारमै व्यक्तिगत खातामा निकासा भइसकेको छ । ५९ जनप्रतिनिधि र एक चालकसहित ६० जनाका लागि ६ लाख निकासा भएको हो । कपडा लिएर कोट सिलाउन नापो दिएका अधिकांश जनप्रतिनिधिले पनि कपडा पसल र टेलर्समा पैसा तिरेर कोट ल्याउने नैतिकता देखाएका छैनन् ।
उपमेयरले नै सिलाइनन् कोट
नगर सभामा सहभागी हुँदा एउटै ड्रेस कोड होस् भनेर पुरुषलाई कोट–पाइन्ट र महिलालाई कोट–सारीको योजना ल्याइएको हो । यो नराम्रो होइन । मेरो खातामा पनि १० हजार हालिदिएको छ । तर, कोट सिलाउन पाएको छैन । अब सिलाउने हो ।
कपडा साहु लक्ष्मण साह भन्छन्–मेयरको वचनले उधारो दिएँ, पैसा फसेको छ
मेयर गंगा पासमानसँग पहिल्यैदेखि मेरो व्यवहार चल्दै आएको छ । उहाँले कपडा दिनुपर्यो भनेपछि मैले सुटको डेढ सय मिटरजति कपडा दिएँ । सबै उधारोमै दिएको हो । तर, त्यसको पैसा पाएको छैन । यसबारे मेयरसँग कुरा गरिरहेको छु । धेरै कुरा अहिले नै नबोलौँ होला ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह भन्छन्–एकपटक पैसा दिएपछि फेरि दिने भन्ने कुरै हुँदैन
जनप्रतिनिधिलाई पोसाक भत्ताको नाममा १०–१० हजार निकासा भइसकेको छ । उहाँहरूले कोट–पाइन्ट ननिकालेपछि टेलर्सले सेलमा राखेको भन्ने मैले पनि थाहा पाएँ । अब कसरी पोसाक निकाल्ने जनप्रतिनिधिकै जिम्माको विषय हो । एकपटक निकासा भइसकेपछि पुनः रकम दिने भन्ने हुँदैन ।
जनताको घरमा चर्पी र पानी छैन
जनप्रतिनिधिलाई सुटका लागि पैसा बाँड्नेमा कर्जन्हा नगरपालिका नै सिरहाको पहिलो स्थानीय तह हो । यही नगरका कैयौँ विपन्न बस्तीमा नागरिकले पिउने पानी पाएका छैनन्, घरमा चर्पीसमेत छैन ।
भएका फुसको घर पनि हावाहुरी र बाढीले भत्काएको वडा नं। ६ को भागपुर मुसहर बस्तीमा खानेपानी र चर्पीको समस्या छ । दसैया सदा, श्रीचन सदा, रामप्रसाद सदा, कारिचन सदाको घरमा खानेपानीको हातेकल छैन । दसैयाको घरमा चर्पीको प्यान छ, तर बारबन्देज छैन ।
‘खानेपानीका लागि अर्काको धारामा जानुपर्छ । अनाहकमा विवाद पनि हुने गर्छ । आफ्नै घरमा भइदिएको भए सजिलो हुन्थ्यो,’ शिवशक्तिदेवी सदाले भनिन् । स्थानीय युवा प्रभात महतोले जनतालाई पानी पनि नदिएर जनप्रतिनिधिले कोट पाइन्टमा पैसा खर्च गर्नु मतदातामाथिको अपमान भएको बताए ।
कर्जन्हा नगरपालिकामा अहिलेसम्म केन्द्र कहाँ राख्ने भन्ने विवादसमेत छ । केन्द्र विवादकै कारण बगहामा रहेको कार्यालयमा आगजनी भएको थियो भने मेयर चढ्ने गाडीमा ढुंगामुढा भएको थियो । नगरपालिकाले चार ठाउँमा कोठा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ ।
सनलाइट टेलरका सञ्चालक विश्वेश्वर मण्डल भन्छन्– ६ हजारदेखि माथि जति पाइन्छ बेचिदिन्छु
पाँच महिना भयो मैले सुट सिलाएको । केही जनप्रतिनिधिले लिएर गएका छन् । अहिले मेरो पसलमा तयार गरिएका ३५ वटा सुट ह्यांगरमा झुन्डिएका छन् । फोन गरेर बोलाउँदा पनि लिन आउँदैनन् । मेरो कम्तीमा डेढ लाख फसेको छ । अब पनि लिन नआए दसैँमा प्रतिसुट ६ हजारदेखि माथि जति पाइन्छ लिलाममा बेच्छु । फेसबुकमा सूचना हालिसकेको छु ।
मेयर गंगा पासमान भन्छन्–जमानाअनुसार चल्न ब्रान्डेड सुट सिलाउन दिएका हौँ
नगरका सबै जनप्रतिनिधिको पोसाक समान होस् भनेर नगरसभाका ५९ सदस्यलाई सुट सिलाउन १०–१० हजार रकम दिने निर्णय गरेका हौँ । त्यसले जनप्रतिनिधिलाई मर्यादित र व्यवस्थित पनि देखाउँथ्यो । अरू वेला नभए पनि नगरसभाको बैठक बस्दा सबै सदस्य एउटै ड्रेसमा हुँदा राम्रो देखिन्थ्यो ।
स्कुलमा त एउटै ड्रेस बनाइएको हुन्छ भने हामीले किन नबनाउने रु तर, साथीहरूको लापरबाहीले कोट–पाइन्ट टेलरिङ सेन्टरमै थन्किएको छ । अधिकांश साथीले नगद पैसा अन्तै खर्च गरे, सिलाइएका सुट लिन गएनन् । यसमा नगरपालिकाको लापरबाही भयो ।
जनताको पैसाबाट सुट किन्नेरनकिन्ने अहम् प्रश्न त हो । तर, हामीले पनि जमानाअनुसार चल्नुपर्छ । त्यसैले चल्तीको डोनियर ब्रान्डको सुट सिलाउन दिइएको हो । यसको अर्थ हामी जनताका समस्याप्रति सचेत छैनौँ भन्ने होइन । नगरपालिकामा खानेपानी र शौचालयको चर्को समस्या छ । त्यसलाई पनि हामी समाधान गर्दै लैजान्छौँ । धेरै ठाउँमा गरेका पनि छौँ ।
वडा ११ कि सदस्य रामसतीदेवी सदा भन्छिन्–पैसा त अन्तै मासियो, कोट नगरपालिकाले ल्याइदिए लगाउने हो
नगरपालिकाले सबै जनप्रतिनिधिको एकै खालको ड्रेस बनाउन लुगा सिलाउन १० हजार दिएको थियो । पुरुषले सुट र महिलाले सारी–ब्लाउज र कोट लगाउने भनिएको हो । तर, नगरपालिकाले बैंकमा हालिदिएको पैसा मैले त अर्कै काममा मासिसकेँ । कोट–सारी लगाउन पाए त राम्रै हुन्थ्यो नि ! तर, कसरी लगाउनू रु अब नगरपालिकाले ल्याइदिए लगाउने हो । नत्र, आफैँ पैसा तिरेर त कहाँबाट लगाउनू ?
- नयाँ पत्रिका दैनिकबाट