सहायक वन अधिकृत र बिचौलिया ६५ हजार घुससहित अख्तियारको फन्दामा


नवलपरासी, २ असोज । पश्चिम नवलपरासीबाट सहायक वन अधिकृत र एकजना बिचौलिया घुस लिँदालिँदै अख्तियारको फन्दामा परेका छन् ।

अख्तियारको टोलीले प्रतापपुर–सुस्ता सबडिभिजन वन कार्यालयका प्रमुख प्रशुराम चौधरी र बिचौलिया मनोजकुमार शर्मालाई घुससहित पक्राउ गरेको हो । उनीहरु ६५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जनाएको छ

पक्राउ परेका शर्मा वन कार्यालयलाई घर भाडामा दिएका घरधनी हुन् । सहायक वन अधिकृत चौधरीको घर बर्दिया हो ।दुवैजनालाई सदरमुकाम परासीस्थित जिल्ला सरकारी वकिलको कार्यालय परिसरबाट पक्राउ गरिएको छ ।

वन क्षेत्रबाट अवैधरुपमा बालुवा चोरी गरेर ल्याएको आरोपमा डिभिजन वन कार्यालयले १० दिनअघि तीनओटा ट्याक्टर फेचुवा गाउँबाट नियन्त्रणमा थियो । तीमध्ये एक ट्याक्टरधनीको मुद्दा मिलाइदिने भन्दै सहायक वन अधिकृतले सेवाग्राहीसँग ६५ हजार घुस मागेको अख्तियारले जनाएको छ ।

सेवाग्राहीबाट सोझै घुस लिँदा पक्राउ पर्ने डरले सहायक वन अधिकृत चौधरीले घरधनी शर्मालाई रकम बुझ्न लगाएका थिए । बिचौलिया शर्माले सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा दुवै जनालाई सरकारी वकिलको कार्यालय परिसरबाट पक्राउ गरिएको छ अख्तियारले जनाएको छ ।

प्रकाशित : २०७६ आश्विन २, बिहीबार ११:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ