जयनाथ यादब/ सिरहा, ५ असोज । नेपालमा प्रतिबन्धित औषधी तस्करी गरिरहेका दुई बालकलाई ठाडी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका ४ बस्ने देवेन्द्र यादबको १२ वर्षीय छोरा शिवराम यादब र भगवानपुर गाउँपालिका ३ बस्ने रामविलास यादबको १० वर्षीय छोरा दिपरञ्जन यादब छन् ।
दुवै जना भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागेका विभिन्न खालका औषधीसहित भगवानपुर गाउँपालिका ३ लालपुरबाट पक्राउ परेको प्रहरी चौकी ठाडीका इनचार्ज चन्देश्वर सिंहले जानकारी दिए । उनका अनुसार दुवै बालकको साथबाट प्रतिबन्धित ट्याब्लेट ओमी ५७ पत्ता, किपला २२ पत्ता, एभिल १० पिस, डाइलोना १० पिससहित करिब ४० हजार बराबरको औषधी बरामद भएको छ ।
पक्राउ परेका बालकलाई कसैले रकमको लोभ दिएर औषधी तस्करी गर्न लगाएको अनुमान गरिएको छ । बालकसँग वयान लिने र तस्करी गर्न लगाउने व्यक्तिको पहिचान खुले त्यसलाई पनि पक्राउ गरी कारबाही गर्ने प्रहरीले जनाएको छ । पछिल्लो पटक लागुऔषध तस्करी गर्न समेत बालकको प्रयोग भइरहेको स्रोतको दावी छ ।