एजेन्सी, १२ असोज । भारी वर्षाका कारण भारतको बिहारको राजधानी पटना जलमग्न भएको छ। सडकमा डुंगा परिचालन गरिएका छन्। उद्धारकर्मीहरू डुँगाको सहायतामा बाढीमा फसेका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। राहत र उद्धार कार्यका लागि ६ वटा क्विक रेसपोन्स टोली परिचालन गरिएको छ।
लगातारको वर्षाका कारण शहरका ८० प्रतिशत घर तथा भवनमा पानी पसेको बिबिसीले जनाएको छ। अस्पताल, विद्यालय, सार्वजनीक कार्यालयहरू, मन्त्री, नेताहरूको घरमा पनि पानी पसेको छ।
कैयौँ क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ। केही क्षेत्रमा खानेपानी र खानाका समेत अभाव हुन थालेको छ। मौसम विज्ञान केन्द्र पटनाका अनुसार पूरै राज्यमा अहिले दक्षिण-पश्चिम मनसून सक्रिय भएको छ। केही दिनदेखि पूरै राज्यमा पानी परिरहेको छ।
राजधानी पटनामा मात्रै ४८ घण्टामा पछिल्लो १० वर्षयताकै सबैभन्दा धेरै ३ सय मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको मौसम विज्ञान केन्द्रले जनाएको छ। मौसम विभागले शनिबार राति ९ बजे पूर्वानुमान सूचना जारी गर्दै ४८ घण्टासम्म पटनासहित बिहारका १५ जिल्लामा अतिवृष्टिको सम्भावना औँल्याएको थियो।
हजारौँ मानिसहरू आफ्नो घरभित्रै पानी कारण फसेका छन्। लगातारको वर्षालाई मध्यनजर गर्दे राज्यको विपद् व्यवस्था विभागले हाई अलर्ट जारी गरेको छ। मानिसहरूलाई घरबाट बाहिर ननिस्कन सुझाव दिइएको थियो। एनडीआरएफ र एसडीआरएफको टोलीलाई राहत र उद्धार कार्यमा परिचालन गरिएको छ।
पटनाका डीएम कुमार रवीले अर्को आदेश नआउन्जेल सबै विद्यालय, कलेज, कोचिंग र परीक्षा स्थगित गर्न भनेका छन्। उनले वर्षाका कारण शहरका तल्लो क्षेत्र निक्कै प्रभावित भएको बताएको बिबिसीले लेखेको छ।
भारी वर्षाकै कारण बिहारमा रेल यातायात र हवाई उडान सेवा पूर्णरूपमा प्रभावित भएका छन्। कैयौँ रेलहरू डाइभर्ट र रद्ध गरिएको छ भने उडान पनि रद्ध गर्नुपरेको छ।
मौसम विभागले अहिले नै मौसम सफा हुने कुनै सम्भावना नरहेको पूर्वानुमान गरेको छ। सोमबार र मंगलबार पनि भारी वर्षाको चेतावनी दिइएको छ। अहिलेकै अवस्थामा वर्षा भइरहे सहयोगका सेनालाई समेत परिचालन गर्नसक्ने सम्भावना देखिएको बिबिसीले जनाएको छ ।