काठमाडौं, १५ असोज । नेपालीहरूको महान् पर्व नवरात्रिको चौथो दिन आज हिन्दूधर्मालम्बीहरूले कुष्माण्डाको पूजा गर्दैछन् । देवीभागवतपुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको छ । नवरात्रिको चौथो दिन कुष्माण्डा भगवतीको पूजा आराधना गरी चतुर्थी पर्व मनाईँदै छ ।
आश्विन शुक्ल प्रतिपदा ९घटस्थापना०मा जमरा राखी नवमीसम्म नवरात्रीय विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ्र । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष आराधना गरिन्छ ।
विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथी र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टीका र जमरा लगाउने चलन छ । आश्विन शुक्ल पक्षको दशमी यस पर्वको प्रमुख दिन हो । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसकारण यस दशमीलाई विजया दशमी भनिएको हो ।
वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूर्णिमासम्म गरिन्छ । आफ्ना नाता कुटुम्ब ठूला बडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने गरिन्छ । नयाँ कपडाहरू लगाउने, मिठो खाना खाने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुग्घर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।