एजेन्सी, १६ असोज । चीनमा एक भ्रष्ट पूर्वनगर प्रमुखको घरभित्र साढे १३ टन सुनसहित करोडौँ रुपैयाँ रकम भेटिएको छ । हैनान प्रान्तको हैकाउ शहरका पूर्वनगर प्रमुख ५८ वर्षीय झाङ्ग की नाम गरेका अधिकारीको घरबाट साढे १३ टन सुन र २ लाख ६२ हजार करोड डलर बरामद भएको हो ।
अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार राष्ट्रिय पर्यवेक्षक आयोगद्वारा गरिएको अनुसन्धानका क्रममा बरामद गरिएको उक्त सुनको मूल्य लाखौँ डलर रहेको छ । प्रहरीले उनको घरमा छापा मारी सुन, करोडौँ नगद, पुरातात्विक सामानहरू र विलासी रियलस्टेटका कागजातहरू बरामद गरेको छ ।
प्रभावशाली कम्युनिष्ट अधिकारी झाङ्गले घुसका रूपमा सुन लिएको आरोप छ । उनलाई हैनान प्रान्तको शीर्ष पदमा रहेका उनलाई पदबाट हटाइसकिएको छ र अनुसन्धान चलिरहेको सञ्चार माध्यमहरूले जनाएका छन् । झाङ्गमाथि लागेको आरोप पुष्टि भए उनी चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माभन्दा धेरै धन लुकाइराख्ने व्यक्तिका रूपमा चिनिने छन् ।
चीनमा सरकारी कर्मचारीले आर्थिक अपराध गरेको ठहरिएमा मृत्युदण्ड दिने प्रावधान छ । उनलाई प्रहरीले अहिले निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ । उनी झण्डै नौ मिलियन जनसंख्या रहेको हैनान प्रान्तको हैकाउका कम्युनिष्ट पार्टी कमिटीका सेक्रेटरीसमेत रहिसकेका छन् ।
उनलाई शहरका मेयर सरह अधिकार प्राप्त थियो । यसका अलावा उनी हैनान प्रान्तको स्ट्यान्डिङ कमिटीका सदस्यसमेत थिए । उनले सन् २०१२ मा पदभार सम्हालेपछि १० हजार मानिसलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको छ । रिपोर्टका अनुसार सैन्य अधिकारी र शीर्ष अधिकारीहरूसहित कम्तिमा १२० भ्रष्टाचारमा संलग्न रहेको ठहर भइसकेको छ ।