जनकपुरधाम, १८ असोज । चोरलाई समातेर कार्वाही गराउने जिम्मा पाएको प्रहरी आफैं चोरीको घट्नामा संलग्न भएको आशंका गरिएको छ । धनुषाका एक जना प्रहरी निरीक्षक चोरीमा संलग्न भएको पाइएपछि उनलाई प्रदेश प्रहरी कार्यालयले तानेको छ ।
इलाका प्रहरी कार्यालय ढल्केबरका इन्चार्ज अवधकिशोर ओझाले इलाका प्रहरी कार्यालयमा रहेको एस्कावेटरको पार्टपूर्जा चोरी गरेको भन्दै उजुरी परेपछि उनलाई त्यहाँबाट जनकपुरस्थित गणमा तानिएको प्रदेश प्रहरी प्रमुख डिआइजी प्रधुम्न कार्कीले बताए ।
‘पार्टपूर्जा चोरी भएको उजुरी परेपछि प्रहरी निरीक्षक ओझालाई तानेर अर्काे प्रहरी निरीक्षकलाई पठाइसकिएको छ,’ उनले भने, ‘घटनाको छानविन समितिले प्रतिवेदन बुझाएको छ, त्यस अनुसार कार्वाही हुनेछ ।’ गत फागुनमा जंगलको जग्गा खनेर क्षति पु¥याएको भन्दै वन कर्मचारीहरुले मिथिला नगरपालिकाका जनुलाल महतोको एक्साभेटर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय ढल्केबरको जिम्मा लगाएका थिए ।
इलाका प्रहरी कार्यालयमा राखिएकै समयमा आफ्नो ६ लाख बराबरको पार्टपूर्जा चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीमा उजुरी दिएपछि प्रदेश प्रहरीले प्रहरी उपरीक्षक उमाशंकर पंजियारको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । छानबिन समितिको प्रतिवेदन अनुसार उनी दोषी देखिएमा तत्कालै कार्वाही हुने प्रदेश प्रहरी प्रमुख कार्कीले बताए ।
कार्कीले उनलाई तानेर छानबिन भइरहेको भन्दै दोषी देखिए प्रहरी नियमावली र प्रचलित कानून अनुसार कार्वाही गरिने बताए । ‘हामी यस्ता प्रहरीलाई कार्वाही गर्न कुनै कन्जुस्याइँ गर्दैनौं’ प्रदेश प्रहरी प्रमुख कार्कीले भने –प्रहरीबाट गल्ती भए कार्वाही हुन्छ ।