आज महानवमी : शक्तिपीठरुमा बली चढाउने र पूजापाठ गर्नेहरुको घुइँचो


जनकपुरधाम, २० असोज । बडादशैंको महानवमीको दिन आज महागौरीको पूजा गरिँदैछ । नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको नवौं दिन आश्विनशुक्ल नवमी तिथिमा देवी भवानी महागौरीको पूजाआराधना गरिन्छ ।

माता महागौरीलाई सत्य र साँस्कृतिक शुद्धिको प्रतीक मानिन्छ । उनी सबै दुर्गति नाश गरेर जगतमा शान्ति स्थापना गर्न प्रकट भएकी हुन् । माता महागौरी सेतो साढेमा आरुढ भएकी छन् । उनले वदनमा कुनै दाग नभएको शुद्ध सफा सेता वस्त्र धारण गरेकी छन् । माता महागौरीले सदाशिवलाई समेत अनन्त अक्षत आशिर्वाद दिइरहेकी हुन्छिन् ।

महागौरीलाई पार्वतीको सोह्रवर्षे षोडषी वा अविवाहिताको रुपमा चित्रण गरिएको छ । नवमीका दिन घरघरमा नवकुमारी कुमारिका, त्रिमूर्ति,कल्याणी, रोहिणी, काली,चण्डिका, शाम्भवी, दुर्गा र सुभद्राका रुपमा कन्याहरुको पूजा गरिन्छ । नौ कन्यालाई नवकुमारी मानेर पूजा गर्ने परम्परा छ ।

महानवमीका दिन घरघर स्थापना गरिएका दशैंघर,देशभरका देवीमन्दिर तथा कोटघरमा भव्यपूजाआजा हुन्छ । दुर्गति नाश गर्ने प्रतीकका रुपमा शक्तिपीठहरुमा विधिपूर्वक वलिपूजा तथा सात्विक पूजा गरिन्छ । यस्ता पीठहरुमा राँगा, बोका, भेंडा, कुखुरा, हाँसका भालेको पञ्चवलि पनि दिइन्छ भने सात्विक पूजा गर्नेले कुभिण्डो केरा काक्रा लगायतका फलफूलको भोग लगाउने चलन छ ।

शक्ति आर्जनका लागि व्यक्ति वा राज्यशक्तिले समेत महाशक्तिको पूजा गर्ने चलन छ ।

प्रकाशित : २०७६ आश्विन २०, सोमबार ०२:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ