दार्चुला, २७ असोज । भारतसँग सीमा जोडिएका दार्चुलाका सीमा नाका ४८ घण्टाका लागि बन्द हुने भएको छ । भारतमा हुन लागेको ग्राम पञ्चायत निर्वाचनको लागि सीमा नाका बन्द गर्न लागिएको हो ।
भारतमा असोज २९ गते ग्राम पञ्चायत हुँदैछ । त्यसको लागि सोमबार साँझ ५ बजेदेखि २९ गते साँझ ५ बजेसम्मका लागि सीमा नाका बन्द गर्न लागिएको हो । पीथौरागढ जिल्लासँग जोडिएका नेपाल आउने सबै नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले जानकारी दिनुभयो ।
भारतको विकास खण्ड धारचुलाअन्तर्गत ग्राम पञ्चायत सदस्य, क्षेत्र पञ्चायत सदस्य तथा जिल्ला पञ्चायत सदस्यका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारण देखाउँदै दार्चुलासँग जोडिएका सबै सीमा नाका बन्द गर्ने सम्बन्धी भारतीय प्रशासनले पत्राचार गरेको छ । भारतीय निर्वाचनका कारण सदरमुकामसँग जोडिएको झोलुङ्गे पुल र तिगर पुल बन्द हुनेछ ।
यसअघि असोज १८ गते भएको त्रिस्तरीय ग्राम पञ्चायत निर्वाचनका लागि बैतडीको झुलाघाट तथा दार्चुलाका लाली, जौलजीवी र दत्तु नाका ४८ घण्टाका लागि बन्द गरिएको थियो । नेपाल र भारतमा निर्वाचन हुँदा दुवै देशको सहमतिमा सीमा नाका बन्द हुने गरेका छन् ।
यस पटक भारतीय पत्राचारअनुसार जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै नाका बन्द गरिनुभन्दा चार दिनअगावै सञ्चार माध्यममार्फत बन्द हुनेबारे जानकारी गराएको छ । बन्द गरिएका नाका दुवै पक्षको समन्वयमा खोल्न सकिने बताइएको छ ।