काठमाडौं, २९ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का प्रतिनिधिसभा सदस्य पार्वत गुरुङलाई पक्राउ गर्न पुर्जी जारी भएको छ । नेकपाका केन्द्रीय सदस्य समेत रहेका दोलखाका सांसद गुरुङलाई ज्यान मार्ने मुद्दा अन्तर्गत पक्राउ पुर्जी जारी भएको हो ।
ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको हो । गुरुङको नाममा जारी भएको पक्राउ पुर्जी गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयंबहादुर खड्काले बुझेका थिए ।
वीरध्वज खड्काको जाहेरीले २९ वैशाख ०७६ मा काठमाडौँ जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो । सांसद गुरुङविरुद्ध खड्काले २०७६ को वैशाख २९ गते काडमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने कसुरको जाहेरी दर्ता गरेका थिए ।
सो मुद्दामा गुरुङसँगै दोलखाको गौरीशंकर गाउँपालिकाकै मिनबहादुर तामाङ, कसराङ मन्ने कर्ण तामाङ, उर्मिला थामी, जीवन तामाङ, सागर तामाङ, सविन तामाङलाई प्रतिवादी बनाइएको छ ।