सन्तोष यादव / जनकपुरधाम, ६ कार्तिक । धनुषाको विकासमा टेवा पुग्ने दुई महत्वाकांक्षी आयोजनाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले शिलान्यास गरेका छन् ।
मन्त्री महासेठले धनुषाको ढल्केवर–जनकपुर ६ लेन सडक खण्डको औरही पुल र जनकपुर– ढल्केबर सिंचाई नहर निर्माण कार्यको शिलान्यास गरेका हुन् । औरही पुल निर्माणका लागि ७४ करोड ७९ लाख ७२ हजार ३८० रुपैयाँ ५७ पैसा र नहर निर्माण कार्य ७० करोड ७५ लाख ४५ हजार ३९१ रुपैयाँ ६६ पैसामा ठेक्का लागिसकेको छ ।
शिलान्यास समारोहमा बोल्दै मन्त्री महासेठले देशभर विकासले गति लिएको दावी गरे। ‘कसैलाई लाग्दै होला प्रतिपक्ष दलले जितेको क्षेत्रमा विकास गर्दैन। तर त्यस्तो सोच सरकारको छैन । प्रधानमन्त्रीज्यूले मलाई कुनै क्षेत्रलाई काखा र कुनैलाई पाखा नगरी विकास निर्माणको काम गर्न निर्देशन दिनुभएको छ’, उनले भने, ‘सोही बमोजिम विकास निर्माण भइरहेको छ।’
पुल निर्माणका लागि ३ वर्ष र नहर निर्माणका लागि १ वर्षको निर्माण सम्पन्न म्याद तोको छ । दुवै आयोजना समयमै सकिने ठेकेदार कम्पनीले जनाएको छ । नहर निर्माण भएपछि हजारौं जनताले सिँचाइ सुविधा पाउने छन् ।
यस्तै ६ लेनको सडकमै पहिलो पटक औरही पुल ६ लेनको बन्न लागेको छ । पुलको सौन्दर्यीकरणका लागि समेत बजेट विनियोजना गरिएको मन्त्री महासेठले बताए । – थाहा खबर