जनकपुरधाम, ७ कार्तिक । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसका जिल्लाहरूमा पार्टी कार्यालय खोल्न थालेका छन् । बिहीबार जनकपुरस्थित रामानन्द चोकमा जिल्ला पार्टी कार्यालयको उद्घाटन डा. राउतले गरे ।
रामानन्द चौकस्थित आर्या कलेज प्रालि परिसरमै राउतले पार्टी कार्यालय संचालनमा ल्याएका हुन् । कलेजले राउतलाई दुइटा कोठा कार्यालयका लागि उपलब्ध गराएको उक्त पार्टीका एक नेताले बताए ।
राउतले बुधबार सिरहा सदरमुकाममा जिल्ला पार्टी कार्यालयको उद्घाटन गरेका थिए । एक महिनाभित्रै मधेसका सबै जिल्लामा पार्टी कार्यालय संचालनमा ल्याउने जनतमत पार्टीका नेताहरूले बताएका छन् ।
सरकारसँग ११ बुँदै सम्झौता गरेर मूलधारको राजनीतिकमा आएदेखि डा. राउत कुनै गतिविधि गरेका छैनन् । तर, पछिल्लो समय फेरि उनको सक्रियता बढेको छ । उद्घाटन समारोपछि राउतले केही व्यक्तिलाई पार्टीको सदस्यतासमेत बाँडे ।
उनले पार्टी निर्वाचन आयोगमा दर्ता भएको र अब सशक्त रूपमा संगठन निर्माणमा जुट्नुपर्ने बताए । ‘जनमत पार्टीले जनताको मत लिएर अगाडि बढ्छु उनले भने, ‘चुनाव चिन्ह स्पिकर पाएका छौँ । यो पनि राम्रै हो । जनताको आवाज बोल्छ ।’