काठमाडौं, ९ कार्तिक। इराकमा रोजगार तथा सार्वजनिक सेवा सुधारको माग गर्दै जारी विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।केही दिनयता जारी विरोध प्रदर्शनमा अहिलेसम्म चालिस जनाको मृत्यु भएको छ ।
इराकको राजधानी बग्दादमा शुक्रबार गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा कम्तिमा दुई जनाको मृत्यु भएको छ । प्रर्दशनकारीलाई भगाउन प्रहरीले अश्रुग्यास तथा रबरका गोली हानेको थियो । अश्रुग्यासका कारण उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अघिल्लो महिना पनि यस्तै खालको प्रदर्शनका क्रममा १ सय ५० जनाको मृत्यु भएको थियो।
इराकी प्रधानमन्त्री अदेल अब्दुल महदीले जनताले शान्तिपूर्वक विरोध ता प्रदर्शन गर्न पाउने भन्दै हिंसा स्वीकार्य नभएको स्पष्ट पारेका छन् ।महदी प्रधानमन्त्रीमा चयन भएको हिजो एक बर्ष पुगेको छ ।उनले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तथा सुधारका कार्यक्रम ल्याउने बताए पनि प्रदर्शनकारी आश्वस्त भएका छैनन् । प्रदर्शनका सहभागी अधिकांश युवा तथा वेरोजगार छन् । (एजेन्सी)