मन्त्रिपरिषद् पुनर्गठन : उपेन्द्र यादवको मन्त्रालय खोसियो ! को हटे, को बने ? (सूचीसहित)


काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । सरकार गठन भएको २१ महिनामा प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाउँदै र केही मन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन ।

केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । पुनर्गठन गरिएको मन्त्रिपरिषद्का सदस्यहरुको सूची राष्ट्रपति कार्यालयमा पठाइएकाे छ ।

को को बने नयाँ मन्त्री ?

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, मोती दुगडलाई मन्त्री नियुक्त गरेका छन् । यस्तै लेखराज भट्ट र रामेश्वर राय यादव पनि मन्त्री भएका छन् ।

नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिइएको छ । भुसाल कृषिमन्त्री हुँदैछन् भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नेछन् ।

उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइनेछ । महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रीमा पार्वत गुरुङको नाम रहेको जनाइएको छ ।

भट्ट, राय यादवको मन्त्रालय खुलेको छैन । यस्तै विमला राईलाई पनि मन्त्री नियुक्त गरिएको स्रोतको दाबी छ ।

यथावत रहेका मन्त्री

स्रोतका अनुसार उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत रहनेछ ।

को को हटे ?

स्रोतकाअनुसार भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ । यस्तै कृषीमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृष्ण राज्य मन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

कस्को मन्त्रालय फेरबदल ?

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् भने उपेन्द्र यादव कानुनमन्त्री हुनेछन् ।

नयाँ मन्त्रिहरुका लागि बिहीबार विहान सपथग्रहणको कार्यक्रम राखिएको स्रोतले बताएको छ । – खबरहब

प्रकाशित : 20 November 2019 4:19 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ