८० घण्टामै महाराष्ट्रका मुख्यमन्त्रीको राजीनामा,भाजपालाई झट्का


एजेन्सी, १० मंसिर। सपथ लिएको ८० घण्टा बित्न नपाउँदै भारतको महाराष्ट्र राज्य सरकार ढलेको छ। त्यहाँका मुख्यमन्त्री देवेन्द्र फडणवीसले संसदमा बहुमतको परीक्षण हुनुअघि नै मंगलबार पदबाट राजीनामा दिएका छन्।

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारले मंगलवार आफ्नो पदबाट राजीनामा दिएपछि यहाँको सरकार संकटमा परेको थियो। बीबीसीका अनुसार मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई भेटेर पवारले राजीनामा दिएका थिए। त्यसपछि मुख्यमन्त्रीको राजीनामा आएको हो।

यहीँ शनिवार नाटकीय राजनीतिक खेलकाबीच फडणवीसले मुख्यमन्त्री पदको शपथ लिएका थिए। महाराष्ट्र सरकार बनाउनका लागि भारतीय जनता पार्टीलाई एनसिपीका संसदीय दलका नेता पवारले साथ दिएका थिए। गत शुक्रबार एनसिपीले शिवसेना र कांग्रेससँग मिलेर सरकार बनाउने तय गरेको थियो। त्यहाँ राष्ट्रपति शासन लागेको थियो। तर, भाजपाबाट त्यहाँका राज्यपाल भगतसिंह कोश्यारीले राष्ट्रपति शासन हटाएका थिए।

र, एक्कासी मुख्यमन्त्री र उपमुख्यमन्त्रीको शपथ दिलाएका थिए। उपमुख्यमन्त्री बनेका पवारलाई उनको दलका कुनै पनि सांसदले साथ दिएनन् र उनका दाइ शरद पवारले उनीमाथि व्यापक दबाब बनाएका थिए। उनलाई एनसिपीले संसदीय दलको नेताबाट मात्रै हटाएन सांसदबाट नै हटाउने चेतावनी दिएको थियो।

उनलाई पार्टीबाट पनि हटाउने तयारी भइरहेको थियो। जसलाई थेग्न नसकेर भाजपासँग सरकार बनाउन पुगेका अजितले राजीनामा दिनुपरेको थियो। उनले शपथ लिएको ७८ घण्टामा राजीनामा दिएका थिए। त्यसपछि मुख्यमन्त्री फडणवीस राजीनामा दिन बाध्य भएका थिए। निर्धारित समयमा सरकार बन्न नसकेपछि महाराष्ट्रमा राष्ट्रपति शासन लागेको थियो। त्यहाँ भाजपा र शिवसेना एकतर्फ तथा अर्कोतर्फ कांग्रेस र एनसिपी मिलेर चुनाव लडेका थिए।

भाजपा र शिवसेनाको गठबन्धनले बहुमत हासिल गरेपनि दुवै पार्टीबीच खटपट सुरु भयो र शिवसेना अर्को गठबन्धनसँग मिलेर सरकार बनाउन गइरहेको छ। त्यहाँ सांसदहरूलाई खरिद गर्ने, बन्धक बनाउने र पार्टी फुटाउने जस्तो गलत राजनीति गरेको भाजपामाथि आरोप लागेको छ। त्यसमा असफल भएपछि मुख्यमन्त्रीले राजीनामा दिनुपरेको हो। बहुमत नहुँदा नहुँदै पनि भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र नेता तथा प्रधानमन्त्री नरेन्द्र मोदीले नै त्यस्तो गलत खेल खेलेको आरोप लागेको थियो। प्रतिपक्षी दलहरूले त्यसको व्यापक विरोध गरेका थिए।

अध्यक्ष शाहले आफ्नै प्रत्यक्ष निगरानीमा त्यो खेल गरेको आरोप लागेको थियो। र, उनले एक टिभी अन्तर्वार्तामा जसरी पनि सरकार गठन गरिछाड्ने अभिव्यक्ति दिएका थिए। महाराष्ट्रमा ‘अपरेशन कमल’ चलाइएको थियो। जसका लागि चारजना वरिष्ठ नेताहरूलाई खुलेआम जिम्मेवारी दिएको थियो। भारतीय संचारमाध्यमका अनुसार ती नेताहरूको जिम्मेवारी शिवसेना, एनसिपी र कांग्रेसका सांसदहरूलाई आफ्नो समर्थनमा ल्याउनु रहेको थियो। जसको विरुद्धमा विपक्षी दलहरूले झन् कडा मोर्चा र शक्ति प्रदर्शन गरेका थिए।

उनीहरूले सांसद जोगाउनेदेखि कानुनी उपचार खोज्ने क्रमलाई तीव्र पारेका थिए। भारतको सर्वोच्च अदालतले बुधबार बहुमत साबित गर्न मुख्यमन्त्री फडणवीसलाई आदेश दिएको थियो। बहुमत आफ्नो पक्षमा नहुने देखेपछि मुख्यमन्त्री फडणवीसले राजीनामा दिएका हुन्। साभारः थाहाखबर

प्रकाशित : 26 November 2019 11:06 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ