सिरहामा दलितको घरमा डोजर : चिसोमा बाहिरै सुतेपछि दलित अस्पताल भर्ना


सिरहा, ८ पुस । सिरहा नगरपालिका ६ बसपिट्टामा डोजर लगाएर घर भत्काएका परिवारका एक सदस्य अत्यधिक चिसोका कारण कठ्यांग्रिएर अस्पताल भर्ना भएका छन् । बसपिट्टाका पाँच दलित परिवारका घर अदालतको आदेशमा डोजर लगाएर शनिबार जमिन्दारले भत्काइदिएका थिए । जसमा एक पीडित थिए ७० वर्षीय दलित रामजी महरा ।

जमिन्दारले घर भत्काएपछि बाहिरै सुत्न बाध्य भएका महरा सोमबार बिहान चिसोका कारण कठ्यांग्रिएर सिकिस्त भए । तत्कालै जिल्ला अस्पताल सिरहा ल्याएपछि महरालाई चिकित्सकको टोलीले उपचार थालेको छ । आकस्मिक कक्षको ३ नम्बर बेडमा उपचारत महरालाई चिसोका कारण उच्च रक्तचाप बढेको र श्वास–प्रश्वासमा समस्या देखिएको डा. दिलीप सदाले बताए । उनले भने, अहिले उहाँको अवस्था जटिल छैन । उहाँलाई अझै केही दिनसम्म अस्पतालमै चिकित्सकको निगरानीमा राख्नुपर्छ ।’

अदालतको आदेश कार्यान्वयन गरियो : प्रजिअ

सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा घर–टहरा भत्काउने काम भएको बताए । ‘यसलाई अन्यथा भन्न मिल्दैन । प्रभावितहरूको व्यवस्थापनका लागि जिल्ला प्रशासनले नगरपालिकासँग समन्वय गरी राहत सामग्री र अस्थायी वासको व्यवस्था मिलाएको छ’, उनले भने, ‘समस्याप्रति संवेदनशील छौँ । प्रभावितलाई ध्यानमा राख्दै राहत पु-याइएको छ । बच्चाका लागि कम्बल र चामल वितरण गरिएको छ ।’

यस्तो थियो घटना

सिरहा नगरपालिका–१ का जमिन्दार परिवारका संरक्षक दामोदर प्रधानांगले आफ्नो निजी गुठी रहेकाले त्यहाँ (बसपिट्टा)का घर–टहरा खाली गराउन जिल्ला अदालतमा मुद्दा दिएका थिए । सोही मुद्दामा अदालतले घर–टहरा खाली गर्न फैसला गरेपछि बसपिट्टाका समतोलिया महरा, रामजी महरा, फुलचो महरा, राजकुमार महरा र रामवृक्ष महराको घरमा शनिबार डोजर चलाइएको हो ।

अतिक्रमित जग्गा खाली गर्न अदालतमा आफूले मुद्दा दिएको र अदालतको फैसलाअनुसार खाली गर्न खोजिएको प्रधानांगले प्रतिक्रिया दिए । २४ कार्तिक ०७३ मा घर टहरा खाली गर्न र २१ जेठ ०७५ मा घर टहरा हटाई चलन चलाउन जिल्ला अदालत सिरहाले फैसला गरेको छ ।

जिल्ला न्यायाधीशहरू देवेन्द्रराज पौडेल र तीर्थराज केसीले उक्त फैसला गरेको तहसिलदार सीताराम खड्काले जानकारी दिए । – सुरेन्द्र कामती /नयाँ पत्रिका

प्रकाशित : 24 December 2019 12:28 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ